(काठमाडौं) – चितवन राईनोजले पहिलो संस्करणको वुमन च्याम्पियन्स लिग ट्वान्टी–२० क्रिकेट डब्लुसीएलको उपाधि जितेको छ । बिहिबार भएको फाइनलमा क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको छ ।
सतप्रतिशत नजितासहित समुह विजेता बन्दै फाइनलमा पुगेको चितवनले, क्याट क्वीन्स काठमाडौंलाई आज ४५ रनले पराजित गर्यो । उपाधिसँगै चितवनले ७ लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता काठमाडौंले ३ लाखमा चित्त बुझायो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको काठमाडौ निर्धारित ओभरमा ६७ रन जोड्दा अलआउट भयो । अप्सरी बेगमले बनाएको १५ रन नै काठमाडौका लागि सर्वाधिक रह्यो । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । चितवनकी रेखा रावलले २ विकेट लिईन् ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १ सय १२ रनको योगफल तयार पारेको थियो । चितवनका लागि सुमन खतिवडाले २९, काजल श्रेष्ठले २१ र कन्चन श्रेष्ठले १९ रन जोड्दा कप्तान ईन्दु वर्मा २२ रनमा नटआउट रहिन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित काठमाडौकी कप्तान रुविना क्षत्रीले १ थान स्कुटर र ५० हजार रुपैयाँ प्राप्त गरेकी छन् । प्रतियोगिताको वेष्ट बलर चितवन राईनोजकी कविता गौतम, ब्याट्सवुमन काजल श्रेष्ठ बने । उनीहरुले जनही २५ हजार रुपैयाँ हात पारे ।
काठमाडौंले लिगको दोस्रो स्थानमा रहँदै इलिमिनेटरमा पुगेको थियो । र, इलिमिनेटरमा विराटनगर टाईटन्सलाई ९ विकेटले पराजित गर्दै काठमाडौं फाइनल पुगेको थियो । क्विन्स ईभन्ट म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगितामा पाँच शहरका पाँच टिमको सहभागिता रहेको थियो ।