काठमाडौँ । साँखु शालीनदीस्थित माधवनारायणको एक महिने व्रत गरिरहेका व्रतालुले तीर्थयात्राका क्रममा दक्षिणकाली नागरपालिकास्थित शेषनारायण मन्दिरमा पूजा आराधना गरी पैदल यात्राका माध्यमबाट साँखु गएका छन् । एकमहिने व्रतमा बसेका महिला १६१ र पुरुष १५ गरी १७६ जना व्रतालुले शेषनारायण मन्दिरमुनिको पोखरीमा स्नान गरी शेषनारायण मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका हुन् । शेषनारायण मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि व्रतालु आइतबार साँझ शेषनारायण मन्दिर क्षेत्रमा आएर बास बसेका थिए ।
आज बिहान मन्दिर मुनिको पोखरीमा स्नान गरी शेषनारायणको पूजा आराधनासहित दर्शन गरेर शङ्खमूलमा आई भोजन गरेका श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले बताएका छन् । पूजा आराधनासहित दर्शन सकेर व्रतालुले फर्पिङ बजार परिक्रमा गरेका वर्तालुसँगै रहनुभएका लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठले जनाएका छन् । फर्पिङबाट व्रतालु पैदल बुङ्मती हुँदै शङ्खमूलमा आएर भोजन गरेका छन् ।
भोजन सकेर पैदलमार्फत बेलुका साँखु पुगेर बास बसेका छन् । आज बेलुकी साँखु पुगेसँगे व्रतालुले पहिलो चरणको तीर्थयात्रा समापन गर्छन् । एक महिने व्रतमा रहेका माधवनारायणका व्रतालुले माघ शुक्ल प्रतिपदाका दिन शेषनारायणमा स्नानसहित पूजा आराधना गर्ने प्राचीन परम्परा छ । माघ कृष्ण चतुर्दशीदेखि माधवनारायणका व्रतालुले तीर्थयात्रा सुरु गरेका हुन् । माघ कृष्ण चतुर्दशीका दिन (आज) बिहान साँखुबाट बज्रयोगिनी माईको दर्शन गरी साँखुमा आएर व्रतालुले भोजन गरेका थिए ।
भोजनपछि पैदल हिँडेर व्रतालु आजै बेलुकी पशुपति क्षेत्रमा आइपुगेका थिए । कोरोनाको तेस्रो लहर फैलिरहेकाले पशुपतिनाथमा स्वास्थ्य मापदण्ड पूरा गरेर माधवनारायणको व्रत विधि पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । माधव नारायणको व्रत बसेका व्रतालुले दोस्रो चरणको तीर्थयात्रा माघ ७ गतेदेखि सुरु हुन्छ । माघ ७ गते साँखुबाट पनौती गएर बास बस्नेछन् । माघ ८ गते बिहान त्रिवेणीघाटमा स्नान गरी त्यहाँको इन्द्रेश्वरलगायत मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने कार्यक्रम छ ।
माघ ८ गते दिउँसोको भोजन बनेपामा गरी साँखु आएर बास बस्ने समितिले जनाएको छ । पनौतीबाट साँखु फर्केपछि दोस्रो चरणको तीर्थ यात्रा समापन हुन्छ । तेस्रो चरणको तीर्थ यात्राका लागि व्रतालु माघ शुक्ल एकादशीका दिन चाँगुनारायण मन्दिर जान्छन् । द्वादशीका दिन बिहान चाँगुनारायणमा स्नान एवं पूजा आराधना गरी साँखु फर्कने परम्परा छ । चाँगुनारायाणबाट साँखु फर्केपछि तेस्रो चरणको तीर्थयात्रा पनि समापन गरिन्छ । माधवनारायणका व्रतालुले माघ शुक्ल सप्तमीमा साँखु बजारमा गुल्टँदै सहस्रधाराको जलबाट स्नान गर्छन् ।
यो सप्तमीलाई लगला सप्तमी पनि भनिन्छ । माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन व्रतालुले शालीनदी किनारमा बसेर खिर खाने परम्परा छ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत माघ शुक्ल पूर्णिमासम्म सञ्चालन हुन्छ । साँखु शालीनदीमा यस वर्ष १६१ जना महिला र १५ पुरुष गरी १७६ जना व्रत बसेका छन् । माघ महिनामा माधव नारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको वर पाउने धार्मिक विश्वास छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी सर्वप्रथम माधवनारायण एवं श्री स्वस्थानीको व्रत गरेको स्कन्दपुराणमा उल्लेख छ । त्यसबेलादेखि नै माधवनारायण र श्री स्वस्थानीको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ । माघ शुक्ल पूर्णिमाका दिन व्रतालुले साङ्गे गरी व्रत समापन गर्छन् ।