संविधान लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण उपलब्धी : सभापति देउवा

16

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गरेको बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धी भएको बताएका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाली कांग्रेसको नेतृत्वमा संविधानसभाबाट नेपालको संविधान जारी भएको घटना लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलव्धी हो । यस संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गरेको छ ।’

सात दशकदेखि बहुलवादमा आधारित बहुदलीय संसदीय लोकतन्त्रको अभ्यास गर्ने, राजनीतिक र धार्मिक स्वतन्त्रता भएको, भय र गरिबीबाट मुक्त समाज निर्माण गर्ने नेपाली कांग्रेसको विचार र संकल्प नयाँ संविधानमा दृढताका साथ स्थापित भएको सन्देशमा उल्लेख छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले जारी गरेको सन्देशमा भनिएको छ, ‘नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो संविधान दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

साथै, सभापति देउवाले दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गरेका छन् ।

समाचार वर्गहरू