काठमाडौं – रौतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र प्रतिनिधिसभा सदस्य उम्मेदवार पूर्वमन्त्री प्रभु साहले एमाले अध्यक्ष केपी ओलीको अनैतिक राजनीतिले आफुहरु स्वतन्त्र चुनाव लड्नुपर्ने बताएका छन् ।
फतुवा विजयपुर नगरपालिका -१, घुसुकपुरमा आयोजित दिपावली र छठको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले केपी ओलीको गलत कदमको विरुद्ध मधेशलगायतका क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरु चुनावमा होमिएको बताए ।
विगतमा जसपाले देशमा मधेशी-पहाडीबीच साम्प्रदायिकता फैलाउने, गौर हत्याकाण्डजस्ता आपराधिक गतिविधिमा संलग्न र मधेशलाई भ्रस्टाचारको अखाडा बनाउने जनता समाजवादी पार्टीको सम्पूर्ण अपराधको जिम्मा एमालेको काँधमा बोकाउने काम ओलीले गरेको भन्दै पूर्वमन्त्री साहले अनैतिक राजनीतिको हिस्सा बन्नुभन्दा स्वतन्त्र हुन उचित लागेकोले एमालेको टिकटबाट चुनाव नलडेको बताए ।
एमालेले नीतिगत रुपमा एक्लै चुनाव लड्ने निर्णय गरेको विषय कोट्याउदै साहले कुर्सीका लागि ओलीले सबैथोक ठिक भनेर जसपा, राप्रपालगायतका शक्तिलाई बोक्नु अनैतिकताको पराकाष्ठा भएको बताए ।
पूर्वमन्त्री साहले भने, “अरु त अरु गठबन्धन हुनुभन्दा एक हप्ता अगाडि मात्र जसपाले राष्ट्रपतिको पुतला जनाएको थियो, ओलीको पुत्ला जलाई एमाले बहिष्कार गर्न आह्वान गरेको थियो । यो कुरा आम जनसमुदायको अगाडि नै छ ।”
“एमालेले कुनै दलसंग सहकार्य नगरी एक्लै चुनाव लड्ने नीतिगत निर्णय गरेको थियो । तर सत्ताका लागि जे पनि गर्न पछि नहट्ने केपी ओलीको गुण रहेछ, त्यो हामीलाई थाहा थिएन । नैतिकता गुमाइसकेका केपी ओलीलाई त्यस्ता शक्तिहरुसंगको गठजोड सहज थियो, तर मेरो लागि विष पिउनु सरह थियो, मैले सकिन । ओलीको अनैतिक राजनीतिका कारण मसहित दर्जनौ नेताहरुले स्वतन्त्र उम्मेदवारी दियौं । “
नेकपा एमालेको स्थायी कमिटी सदस्य रहेका साहले ओलीले जसपासंग गठबन्धन गरेपछि उनले एमालेको टिकट लत्याएर रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए, भने रौतहट क्षेत्र नम्बर २ मा किरण साहले उम्मेदवारी दिएका थिए ।
उनीसँगै रौतहट क्षेत्र नम्बर ३(क) बाट केशव चौधरी, ३(ख) वाट केन्द्रिय सदस्य कुन्दन कुश्वाहा, २(ख) बाट प्रदेश सदस्य राजन यादव(मनोज), १(ख) बाट राजेश चौधरी, ४(ख) रवि जयसवालले प्रदेशसभामा उम्मेदवारी दिएका छन् ।
पूर्वमन्त्री साहले अहिले “स्वतन्त्र उम्मेदवार जिताउ अभियान” संचालन गरेका छन् ।