सब ओभरसियर मण्डल शिवनारायण मण्डलले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको ठहर

8

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको अभियोगमा शिवनारायण मण्डल दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले मण्डललाई भ्रष्टाचारी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ ।

शिवनारायण मण्डलले भारतको बिहार विद्यालय परीक्षा समिति, पटनाबाट सन् १९८३ मा माध्यमिक तह ९एसएलसी सरह० उत्तीर्ण गरेको भनी रोल नं. ६२–७–३६० उल्लेख भएको शैक्षिक प्रमाणपत्र पेस गरेका थिए । सोही प्रमाणपत्रका आधारमा उनले २०५३ साउन १ गतेदेखि द्वितीय श्रेणीको ‘सब–ओभरसियर’ पदमा स्थायी नियुक्ति लिएका थिए ।

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीमार्फत उक्त प्रमाणपत्रको आधिकारिकता जाँच गर्दा बिहार विद्यालय परीक्षा समितिले सो रोल नम्बर भएको प्रमाणपत्र अर्कै व्यक्तिको नाममा रहेको र मण्डलको नाम अभिलेखमा नदेखिएको जानकारी पठाएको थियो । अदालतमा बयान दिँदा समेत मण्डलले प्रतिवेदनको खण्डन गर्न नसकेपछि अदालतले उनलाई दोषी ठहर गरेको हो ।

समाचार वर्गहरू