काठमाडौँ, रासस — नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले जनतालाई राहत दिन नसकेको बताएका छन् ।
काठमाडौँ क्षेत्र नं १ ले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शनिबार यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले चाडपर्वको बेला महँगी ह्वात्तै बढेको बताए ।
“दुईतिहाई जनमत पाएको सरकार काममा भन्दा भाषणमा धेरै लाग्यो, भाषणले देश बन्दैन, जनताको न्यूनतम चाहना पनि सरकारले पूरा गर्न सकेन” उनले भने । जनताले वर्तमान सरकारसँग ठूलो अपेक्षा गरेको नेता सिंहको भनाइ थियो ।
पूर्व उपप्रधानमन्त्री सिंहले सरकारलाई संविधान विपरीत काम नगर्न आग्रहसमेत गरे । “सरकारलाई संविधानको मूल्य र मान्यताविपरीतका काम गर्न अधिकार छैन”, नेता सिंहले भने ।
उनले चाडपर्वको समयमा देशका विभिन्न ठाउँमा भएको सवारी जामले जनता हैरानी खेप्नुपरेको भन्दै जाम पन्छाउनका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।