सरकारले शुक्रबारदेखि काठमाडौंका होडिङ बोर्ड हटाउने

52

(काठमाडौं) – शहरलाई कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पोस्टर, तार लगायतका सामग्री सरकारले हटाउने भएको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बिहीबार गृह मन्त्रालयमा बसेको सरोकारवाला निकाय सहितको बैठकले काठमाडौँ महानगरपालिकाभित्र राखिएका होर्डिङ बोर्डहरु हटाउने भएको हो ।

बैठकले शुक्रबारदेखि चार वटा समूह बनाई ती सामग्री हटाउन सुुरु गर्ने निर्णय गरेको छ । अन्य स्थानीय तहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत निर्देशन दिई कारवाही अघि बढाउने निर्णय बैठकले गरेको छ ।

यसैगरी, बैठकले अव्यवस्थित रुपले टाँगिएका टेलिफोन, केबल तथा इन्टरनेट सेवाप्रदायकका तार हटाउन समयसीमा तोकी सार्वजनिक सूचना जारी गर्ने र तोकिएको अवधिभित्र नहटाए तारलाई काटेर हटाउने निर्णय पनि बैठकले गरेको छ ।

गृहमन्त्री थापाले नागरिकको स्वास्थ्य र नगरको पर्यावरणीय सुन्दरतालाई ध्यानमा राख्दै नगरलाई कुरुप बनाउने गरी राखिएका त्यस्ता संरचना हटाइन लागेको बताए ।

सर्वोच्च अदालतले समेत संरचनाका विषयमा आदेश दिइसकेको र आदेश कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उनले जानकारी दिए । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाभित्र शुक्रबारदेखि त्यस्ता संरचना हटाउन सुरु गर्ने बताए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू