सरकारी जग्गा प्रकरणमा सरकारलाई सांसद थापाको व्यंग्य; संसदमै गरे ‘पुराण’ वाचन

64

मध्यबिन्दु/काठमाडौं – नेपाली काँग्रेसका सांसद गगन थापाले संसदमा पुराणको शैलीमा सरकारमाथि व्यंग्य गरेका छन् । आज (मंगलवार)को प्रतिनिधिसभा बैठकको शुन्य समयमा थापाले बालुवाटार जग्गा प्रकरणमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएको विषयमा कटाक्ष गरेका हुन् ।
पौडेलका छोराको नाममा भएको बालुवाटारको सरकारी जग्गा फिर्ता गर्ने बताएपछि अख्तियारले उनलाई उन्मुक्ति दिएको विषयमा सांसद थापाले कडा शैलीमा व्यंग्य गरेका छन् ।

“कुमारजी आज्ञा गर्नुहुन्छ । हे विष्णुमणि, अब उपरान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नू, थाहा पाइहाले होइन होइन भन्नू । चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्ने भए हत्तपत्त चोरीको सामान फिर्ता गर्नू र दुई पटक विष्णु विष्णु भन्नू, ” सांसद थापाले भने, “त्यसमा पनि लोकले चित्त बुझाएनन् भने ‘गोकुल धाममा गएर खड्ग उचाल्नू’ र चार पटक विष्णु विष्णु भन्नू । त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्नेछैनन् । इतिश्री अख्तियार पुराणे, कुमार–विष्णु संवादे श्रीस्वस्थानी ब्रतकथा बालुवाटार वर्णनाम प्रथम अध्याय । धन्यवाद ।”

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अपचलनमा काँग्रेस उपसभापति विजय गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा चलाएको अख्तियारले नेकपा महासचिव पौडेलका छोरालाई उन्मुक्ति दिएको छ । यसको काँग्रेसले सडक र सदनबाट पनि विरोध गर्दै आएको छ ।

समाचार वर्गहरू