सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध पर्सा अदालतमा पनि मुद्दा दर्ता

164
फाइल फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएको छ।

वीरगन्ज–११० आदर्शनगरस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ रकम अपचलन भएको दाबी गर्दै जिल्ला सकारी वकिलको कार्यालय पर्साले पर्सा जिल्ला अदालतमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो।

जसमा लामिछानेविरुद्ध ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ। यस्तै छविलाल जोशीविरुद्ध भने ७ करोड २० लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले यसअघि गत वैशाख १४ गते अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। उक्त प्रतिवेदनमा भने प्रहरीले सानोपाइला सहकारी संस्थामा लामिछानेसहितको संलग्नतामा २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ २९ पैसा रकम अपलचन यकिन गरेको थियो।

लामिछानेलाई सहकारी ठगी लगायतका प्रकरणमा अनुसन्धानका लागि पर्सा प्रहरीले गत मंसिर २४ गते पोखराबाट पक्राउ गरेर वीरगन्ज ल्याएको थियो। मंसिर २५ गते उनलाई पर्सा जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्याएर उनीसँग ४ घण्टा बयान लिइएको थियो। त्यसै दिन बयान सकिएपछि लामिछानेलाई हवाईमार्गबाट प्रहरीले काठमाडौं लगेको थियो।

लामिछाने हाल बुटवलको सुप्रिम सहकारी ऋण तथा बचत सहकारी संस्थाको रकम अपचलन मुद्दामा पुर्पक्षका लागि भैरहवा कारागारमा छन्।

समाचार वर्गहरू