साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

5

काठमाडौं । साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । दूतावासको भवनमा दुईवटा ड्रोनबाट आक्रमण गरिएको साउदीको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा जारी गरेको विज्ञप्तिमा आक्रमणका कारण सामान्य आगलागी भएको र भवनमा थोरै क्षति पुगेको उल्लेख छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार दूतावासको भवनमा आक्रमणपछि ठूलो विष्फोटको आवाज सुनिएको थियो र आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो । दूतावासमा भएको क्षतिको विवरण खुलेको छैन । सो भवन पहिल्यै खाली गराइएको थियो । साउदी अरबमा रहेको अमेरिकी मिशनले जेद्दा, रियाद र धहरानमा बसोबास गर्नेहरूलाई ‘घरमै सुरक्षित रहन’ आग्रह गरेको छ ।

शनिबार इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेर सर्वोच्च धार्मिक नेता अलि खामेनी मारिएपछि इरानले पनि खाडी मुलुकमा रहेका अमेरिकी सैनिक अखाडाहरुमा र इजरायलमा आक्रण जारी राखेको छ । यसअघि सोमबार कुवेतस्थित अमेरिकी दूतावासबाट वा त्यस आसपासबाट धुवाँ उडिरहेको देखिएको थियो ।

त्यसपछि दूतावासले सर्वसाधारणलाई दूतावास नआउन र आफ्नै घरमा सुरक्षित बस्न अनुरोध गरेको थियो । इरानले बदलास्वरुप मध्यपूर्वका खाडी मुलुकहरुमा निरन्तर आक्रमण जारी राखेको छ । युएईको एक विमानस्थलमा समेत आक्रमण हुँदा सुरक्षा गार्डको रुपमा कार्यरत गोरखाका दिवस श्रेष्ठको मृत्यु भएको थियो । अहिले पनि निरन्तर खतराको साइरन बज्ने र आकासमा ड्रोन उडिरहेको देखिएकाले नेपालीहरु त्रसित छन् ।

समाचार वर्गहरू