साग अन्तर्गत महिला क्रिकेट आजबाट पोखरामा सुरु हुँदैछ

13

(काठमाडौं) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेट आजबाट पोखरामा सुरु हुँदैछ । पहिलोपटक समावेश गरिएको क्रिकेटमा ४ राष्ट्र सहभागी छन् ।  जसमा आयोजक नेपालसहित माल्दिभ्स, श्रीलंका र बंगलादेश सहभागी छ ।

तुलनात्मक रुपमा माल्दिभ्स कमजोर प्रतिद्वन्द्वी मानिए पनि श्रीलंका र बंगलादेश भने बलिया प्रतिद्वन्द्वी हुन् ।

आयोजक नेपाल आज कमजोर मानिएको माल्दिभ्सविरुद्ध खेल्दै साग यात्रा सुरु गर्दैछ । घरेलु मैदानमा लामो समयपछि अन्तर्राष्ट्रिय प्रतियोगिताको अवसर पाएको महिला टोली पदक यात्रालाई मजबुत बनाउन आज सुखद् सुरुआतको रणनीतिमा छ ।

पोखराको स्टेडियममा खेल बिहान ११ बजेबाट सुरु हुनेछ । साउन पहिलो साताबाट जगत टमाटाको प्रशिक्षणमा रहेको टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि लामो समयसम्म गरेको अभ्यासलाई प्रमाणित गर्ने अवसरका रुपमा हेरेको छ ।

आजको खेलपछि नेपालले अर्को खेल बुधबार बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग खेल्नेछ । बंगलादेशपछि नेपालले अन्तिम खेल शुक्रबार श्रीलंकासँग खेल्नेछ । लिगको शीर्ष स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् ।  रुविनाको कप्तानीमा रहेको टोलीमा अनुभवि खेलाडीसँगै युवा खेलाडी छन् ।

अन्तर्राष्ट्रिय खेलको अनुभवि उपकप्तान सीता रानामगरसँगै कागज श्रेष्ठ, इन्दु बर्मा, सरिता मगर, करुणा भण्डारी, सुमन खतिवडा छन् ।

यस्तै युवा खेलाडी डली भट्ट, कविता कुँवरसँगै अन्जली चन्द, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी र रोमा थापा छन् ।

समाचार वर्गहरू