साग पुरुष फुटबलमा श्रीलंकासँग नेपालको बराबरी

16
तस्बिर : एन्फा

(काठमाडौं) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपालले श्रीलंकासँग बराबरी अंक बाँडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपाल र श्रीलंकाले १-१ को बराबरी खेलेको हो ।

खेलको ३६ औं मिनेटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टीमा गरेको गोलबाट नेपालले अग्रता लिएको थियो । खेलमा नेपालले गोलका लागि अन्य अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन । घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा नेपाल अंक बांड्न बाध्य भयो ।

श्रीलंकाली खेलाडीले अनन्त तामाङलाई डी बक्सभित्र हाइफल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । ५ राष्ट्र सहभागी लिगमा राउण्ड रोविनका आधारमा खेल भइरहेको छ । नेपालले पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो ।

श्रीलंका लागि मोहम्मद आतिबले चार मिनेट अतिरिक्त समयमा थप्दा ९१ मनेटमा गोल गरे । बराबरीपछि पनि नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा भुटानलाई ४–० ले हराएको नेपालको चार अंक छ । राउण्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टिमले स्वर्णका लागि खेल्नेछन् ।

दोस्रो स्थानको भुटानको ३ अंक छ । श्रीलंका र माल्दिभ्सको २–२ अंक छ भने बंगलादेशको १ अंक छ । अब नेपालले माल्दिभ्ससँग शनिबार र बंगलादेशसँग आइतबार खेल्नेछ ।

समाचार वर्गहरू