साझा लक्ष्य प्राप्तिका लागि नियमित वार्तालाप जरुरी : सभामुख महरा

20

काठमाडौं – सभामुख कृष्णबहादुर महराले सन् २०३० सम्ममा नेपालले कम आयबाट मध्यम आम्दानी हुने देशमा स्तरोन्नति गर्ने लक्ष्य राखेको बताएका छन् । यूरेशियाली देशका सभामुखहरुको चौथो बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । यूरेशियाः संवाद, भरोसा, साझेदारीको मूल नाराका कजाखस्तानको अस्तानामा शुरु भएको बैठकमा सोमबार सभामुख महराले नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गरेका हुन् ।

नेपालले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा सहित अघि बढेको बताउँदै सभामुख महराले भने, ‘नेपालले बजारमा आधारित अर्थतन्त्रको विकास गर्न, समष्टि–अर्थतन्त्रलाई स्थिरता दिन र सामाजिक–आर्थिक विकासको गति बढाउन अनुकूल राजनीतिक वातावरण सिर्जना गर्नेतर्फ ध्यान केन्द्रित गरेको छ ।’

अहिलेको विश्व अर्थव्यवस्थामा सबै विश्वव्यापी रुपमा एक अर्कासँग जोडिएको बताउँदै सभामुख महराले कोही पनि अलग रहन नसक्ने बताए । उनले भने, ‘यूरोप र एशियाका देशहरूबीचको सहकार्यले विश्वलाई शान्ति, दिगोपन र आर्थिक विकासतर्फ पु¥याउने छ । ग्रेटर युरेशियाको दर्शन फराकिलो, दूरदर्शी र महत्वपूर्ण छ ।’

‘ग्रेटर यूरेशियाः संवाद, भरोसा र साझेदारी’ विषयवस्तुमाथिको छलफलले युरेशियन देशहरुमा शान्तिमय, न्यायपूर्ण र समावेशी समाज निर्माण गर्न सहयोग पु¥याउने बताउँदै सभामुख महराले भने, ‘समग्र युरेशियाले विश्वको ६५ प्रतिशत जनसंख्या, ७५ प्रतिशत ऊर्जा स्रोत र ४० प्रतिशत विश्वव्यापी जीडीपीको प्रतिनिधित्व गर्दछ ।’

दृढ राजनीतिक इच्छाशक्ति, प्रतिबद्धता र कार्यान्मुख दिशा नै विश्वव्यापी लक्ष्यहरू प्राप्त गर्ने मार्ग भएको चर्चा गर्नुहुँदै सभामुख महराले भने, ‘जनताको प्रतिनिधिमण्डलको रूपमा संसदले आवश्यक कानूनहरुको निर्माण, बजेट स्वीकृति र सरकारको नीति तथा कार्यक्रमहरूको निरीक्षण गरी परिवर्तनको स्वामित्व लिन आवश्यक छ ।’

सबैको साझा एजेन्डा दिगो विकासका लक्ष्यहरुको कार्यान्वयन, गरिबी न्यूनीकरण, वातावरण संरक्षण एवं समावेशी लोकतन्त्र प्रवद्र्धन गर्ने सबैको साझा एजेण्डा भएको बताउँदै सभामुख महराले ती साझा लक्ष्यहरू प्राप्त गर्नका लागि नियमित वार्तालाप जरुरी रहेको बताएको उनको सचिवालयले जनाएको छ ।

‘हामीबीचको नियमित भेटवार्ता, छलफल र बहसले एकआपसमा विश्वास बढाउन र साझेदारी बढाउन सहयोग गर्दछ, उनले भने, ‘यो फोरमले आ–आफ्नो देशका अनुभवहरुलाई आदान प्रदान गर्न साझा मञ्च प्रदान गर्दछ ।’

कजाखस्तानमा भएको युरेसियन देशहरुको सम्मेलनले एक आपसमा विश्वास बढाउनको लागि ठूलो भूमिका खेल्ने भन्दै सभामुख महराले यस प्रकारका संसदीय बैठकको निरन्तरता दिनुपर्नेमा जोड दिए ।

समाचार वर्गहरू