(काठमाडाैं) – सामाजिक सञ्जालमा विदेशी मुद्रा खर्च गरेर गरिने विज्ञापनमा नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ ।
फेसबुक, ट्वीटर, यूटुब जस्ता सामाजिक सञ्जालमा ‘बुस्ट’ गरेर विज्ञापन गर्दा अवैधानिक तरिकाले भुक्तानी भएको भन्दै राष्ट्र बैंकले सामाजिक सञ्जालमा विज्ञापन नगर्न सचेत गराएको हो ।
सामाजिक सञ्जालमा विज्ञापनका लागि अनौपचारिक माध्यमबाट रकम भुक्तान गरे विदेशी मुद्रा अपचलन अन्तर्गत रहेर कारबाही गर्ने नेपाल राष्ट्र बैंकले चेतावनी दएको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीभन्दा बाहिरबाट हुने यस्ता भुक्तानी रोक्न सार्वजनिक सूचना जारी गरेको कारबाही गर्ने जनाएको हो ।
‘यस्ता कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले कसैले त्यसरी कारोबार गरेको पाइए विदेशी विनिमय ऐन र प्रचलित कानुनबमोजिम कारबाही हुने बेहोरा जानकारीका लागि,’ सूचनामा उल्लेख छ। विदेशी विनिमय ऐनमा सरकारी निकायको अनुमति नलिई गरेको विदेशी विनिमयको कारोबार जफत गर्न सक्ने र बिगोको तीन गुणासम्म जरिवाना गर्न सक्ने प्रावधान छ। यस्तै बिगो नखुल्ने कारोबार भए कसुरको मात्रा हेरी २ लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था ऐनमा छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले गैर कानूनी तरिकाले सामाजिक सञ्जालमा विज्ञापन भइरहेको र ठूलो रकम अवैधानिक च्यानलबाट विदेश भएको भन्दै यस्तो निर्णय गरिएको जानकारी दिए ।
पछिल्लो समयमाम सामाजिक सञ्जालमा व्यक्ति तथा संस्थाहरुले विज्ञापन गर्ने क्रम बढ्दो छ । २ वर्षअघि भएको तीनै तहका निर्वाचनमा नेताहरुले विज्ञापनका लागि सामाजिक सञ्जालमा राम्रै खर्च गरेका थिए । फेसबुक पेज बनाउने र फेसबुकलाई पैसा तिरेर प्रचार गर्ने लहरै चलेको थियो ।
सामाजिक सञ्जालमा रकम भुक्तानी गर्न व्यवस्थित पेमेन्ट गेटवे नभएकाले अधिकांश विज्ञापनदाताले अनौपचारिक माध्यमबाट भुक्तानी गर्दै आएका छन्। उनीहरूले विदेशमा बस्ने आफन्त वा विदेशी कम्पनीका तर्फबाट सामाजिक सञ्जालमा हुने विज्ञापनको रकम भुक्तानी गर्न लगाई त्यस्ता व्यक्तिलाई नेपालबाट अनौपचारिक माध्यमबाट पैसा पठाउने गरेको राष्ट्र बैंकको अनुमान छ।