सुवोध ऐरको अर्धशतकमा लिटल फ्लावर क्वाटरफाईनलमा प्रवेश

63

(धनगढी) – धनगढीको लिटल फ्लावर स्कूल, निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको क्वाटरफाईनलमा प्रवेश गरेको छ । संघीय प्रहरी कार्यालयको खेल मैदानमा सोमबार भएको खेलमा लिटिल बुद्ध एकेडेमी कञ्चनपुरलाई ९ विकेटले हराउँदै लिटल फ्लावर अन्तिम आठमा पुगेको हो ।

समूह ए को विजेता बन्दै लिटल फ्लावर क्वाटरफाईनलमा प्रवेश गरेको छ । यसअघि उद्घाटन खेलमा लिटल फ्लावरले त्रिनगर माविलाई पनि ९ विकेटले हराएको थियो । समूह ए बाट त्रिनगर र लिटल बुद्ध एकेडेमी बीचको विजेताले समूहको उपविजेता भएर क्वाटरफाईनलमा स्थान बनाउने छ ।

सोमबारको दोस्रो खेलमा टस जितेर पहिले व्याटिङ गर्दै लिटिल बुद्ध एकेडेमी कञ्चनपुरले १८ ओभरमा सबै विकेट गुमाउँदै ९८ रनको योगफल खडा ग¥यो । खराब सुरुवात गरेको लिटिल बुद्धका लागि विशाल ऐरले २८ रन र राजेश ऐरले १० रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले दोहोरो रन अंक छुन सकेनन् ।

लिटिल बुद्धका ४ जना खेलाडी रनआउट भए भने ३ जना खेलाडीले खाता समेत खोल्न पाएनन् । लिटल फ्लावरका लागि महेश अधिकारीले ३ विकेट लिए । किशोर सिंह, दिपक रोकाया र प्रकाश बडुले १/१ विकेट लिए । ९९ रनको विजय लक्ष्य पछ्याएको लिटल फ्लावरले ११ दशमलव १ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो ।

लिटल फ्लावरको दोस्रो फराकिलो जितमा सुवोध ऐरले अर्धशतक प्रहार गरे । ३४ बलको सामना गरेका सुवोध ५ चौका र ३ छक्काको मदत्तमा ५२ रनमा अविजित भए । सुवोधको अर्धशतक प्रतियोगिताको तेस्रो अर्धशतक हो । यसअघि लिटल फ्लावरका विपिन रावल र शारदा विद्या निकेशनका राजन सिंहले प्रतियोगितामा अर्धशतक प्रहार गरिसकेका छन् ।

लिटल फ्लावरका लागि विपिन रावलले १६ र नरेन भट्टले अविजित १५ रन जोडे । लिटिल बुद्धका लागि शुभम् बलमे १ विकेट लिए । खेलमा लिटल फ्लावरका महेश अधिकारी म्यान अफ द म्याच भए । उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए ।

प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा जित हात पार्दै भक्तपुर निष्ट स्कूलले क्वाटरफाईनल प्रवेशको सम्भावना कायमै राखेको छ । आईतबार खेलेको पहिलो खेलमा शारदा विद्या निकेतनसँग ९ विकेटले पराजित भएको भक्तपुर निष्ट स्कूलले सोमबार खेलेको आफ्नो दोस्रो खेलमा सरस्वती नमुना माविलाई ९ विकेटले हराउँदै प्रतियोगिताको अन्तिम आठमा पुग्ने सम्भावना जिवित राखेको हो ।

टस हारेर पहिले व्याटिङ गर्दै सरस्वती नमुना माविले २० ओभरमा सवै विकेट गुमाउँदै ८६ रन बनायो । सो पारीमा अमन महराले १८ रन र सन्तोष चन्दले ११ रन बनाउनु बाहेक अरुले दोहोरो रन अंक छुन सकेनन् । भक्तपुर निष्टका लागि डब्लु मल्लिक र सोहन यादवले ३÷३ विकेट लिए ।

८७ रनको विजय लक्ष्य लिएर मैदान उत्र्रिएको भक्तपुर निष्टले ११ दशमलव ४ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । भक्तपुर निष्टका लागि दुर्गेश थापाले अविजित ४६ रन बनाए । ३७ बलको सामना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे । सरस्वती नमुना माविका लागि अनुप कुँवरले १ विकेट लिए । खेलमा भक्तपुर निष्टका डब्लु मल्लिक म्यान अफ दी म्याच भए । उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए ।

कार्तिक २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मंगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा सरस्वती नमुना मावि र शारदा विद्या निकेतन तथा दोस्रो खेलमा लिटिल बुद्ध एकेडेमी कञ्चनपुर र त्रिनगर मावि बीच प्रतिस्पर्धा हुने आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

देशभरका १२ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच/पाँच हजार रुपैयाँ र हरेक खेलका म्यान अफ द म्याचले एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

लिग कम नकआउट फ्म्र्याटमा हुने प्रतियोगितामा सहभागी हरेक विद्यालयको टिममा सोही विद्यालयको कक्षा १० सम्म अध्ययनरत १० जना खेलाडी र चार जना १९ वर्षमुनिका नेपाली क्रिकेट खेलाडी समावेश छन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० सम्म अध्ययनरत खेलाडीहरूमध्ये उत्कृष्ट छनोट गरेर एक दिवसीय प्रतियोगिता सञ्चालन गर्ने पनि आयोजक संस्कार क्रिकेट एकेडेमीले जनाएको छ ।

समाचार वर्गहरू