(बनेपा) – काभ्रेका स्थानीय तहले क्वारेन्टाइन निर्माणलाई तीब्रता दिएको छ । बनेपा नगरपालिकाले बनेपा बहुप्राविधिक महाविद्यालयमा १ सय बेड र रेडक्रसको तालिम केन्द्रमा ५० बेडको क्वारेन्टाइन निर्माण गर्ने निणय गरेको छ ।
धुलिखेल नगरपालिकाले सञ्जीवनी माध्यमिक विद्यालयमा ५० बेडको क्वारेन्टाइन निर्माण गरेका छन् । यसअघि धुलिखेलमा नै विष्णु दल गणले १ सय बेडको क्वारेन्टाइन निर्माण गरिसकेको छ ।
पनौती नगरपालिकाले ४ स्थानमा, पाँचखालले पाँचखाल प्राविमा, नमोबुद्ध नगरपालिकाले स्थानीय होटल तथा लजहरुमा, रोशी गाउँपालिकाले मंगल जनविजय मावि र लक्ष्मीनारायण माविमा तथा तेमाल गाउँपालिकाले स्थानीय विद्यालयमा क्वारेन्टाइनको व्यवस्थापन थालेको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा.नरेन्द्रकुमार झाले जानकारी दिए ।
काभ्रेमा सञ्चालन हुन लागेको दादुरा–रुबेला विरुद्धको खोप अभियानको दोस्रो चरणको कार्यक्रम प्रभावित भएको छ । बनेपा लगायतका स्थानीय तहले तत्कालका लागि स्थगित गर्ने निर्णय गरिसकेका छन् ।
चैत्र १४ देखि २२ गतेसम्म बनेपा, पनौती, बेथानचोक, खानीखोला र महाभारत गाउँपालिकामा अभियान सञ्चालन हुँदै थियो । भीडभाड हुन सक्ने र स्वास्थ्यकर्मी कोरोना संक्रमण रोकथामका लागि परिचालित हुनुपर्ने भन्दै स्थगित गरिएको स्थानीय तहले जनाएका छन् ।