स्थानीय सरकारले नै भवन सम्बन्धी मापदण्ड उल्लघंन गरे : मन्त्री राई

46

(काठमाडौं) – शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले जोखिमयुक्त भौतिक संरचना निर्माणमा स्थानीय सरकार जिम्मेवार रहेको बताएका छन् ।

स्थानीय तहले आफ्नो अधिकारको गलत प्रयोग गरी असुरक्षित संरचना निर्माण गर्न दिइरहेको मन्त्री राईले बताए ।

नागरिक एकता समाजले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले केन्द्र सरकारको नियम कानूनलाई उल्लंघन गरी स्थानीय तहले शहरलाई नै असुरक्षित र जोखिमयुक्त बनाउने काम गरिरहेको आरोप लगाए ।

उनले भने, ‘२०७२ सालको विनाशकारी भूकम्प पछि संघीय सरकारले भवन सम्बन्धी मापदण्डलाई कडाई गरेको छ, तर स्थानिय सरकारले केन्द्र सरकारको नियम कानूनलाई अटेर गरी आफू अनुकूल स्वीकृति दिँदा अहिले पनि शहरमा जोखिमयुक्त र असुरक्षित भवन बन्दैछन ।’

भवन सम्बन्धी मापदण्डको पालनामा नागरिक पनि जिम्मेवार हुनुपर्ने मन्त्री राईको भनाई छ । कतिपय कानूनको अभाव र अधिकार क्षेत्रको बाँडफाँड किटान नभएका कारण पनि स्थानीय सरकारको गलत अभ्यासलाई केन्द्र सरकारले रोक्न नसकेको गुनासो उनले बताए ।

स्मार्ट सिटी र मेघा सिटीको अवधारणलाई मन्त्रालयले ठोस रुपमा अघि बढाउन लागेको पनि उनले जानकारी दिए । विगतका सरकारले हचुवाको भरमा स्मार्ट सिटी र मेघा सिटी घोषणा गरेका कारण लामो समयसम्म काम अघि बढन नसकेको भन्दै मन्त्री राईले निश्चित मापदण्ड र सूचकहरु बनाएर मन्त्रालयले नयाँ शहर विकासको कामलाई तीब्रता दिएको बताए ।

कार्यक्रममा काठमाडौं उपत्यका विकास प्राधिकरणका बिकास आयुक्त भाइकाजी तिवारीले शहरको विकास गर्ने भन्दा पनि घडेरीको विकास गर्ने गलत सोचका कारण समस्या देखिएको बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर योगदान पु¥याउने १८ जनालाई सम्मान गरिएको थियो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू