काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षा नीति संशोधन गरेर स्नातक तहलाई ३ वर्षे बनाउनुपर्ने बताएका छन्।
स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका-१ स्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, मानविकी तथा सामाजिक विज्ञान विषयमा स्नातक तह ४ वर्षे बनाइँदा विद्यार्थीले लामो समयको बोझ ठान्दै अध्ययनका बहानामा विदेश पलायनको बाटो रोजेको उनको भनाइ छ।
पूर्व शिक्षामन्त्री समेत रहेका श्रेष्ठले भने, ‘प्लस टु सकेको एक विद्यार्थीलाई ४ वर्षे स्नातकको नतिजा आउँदा ६ वर्ष लाग्छ, त्यसपछि पनि जागिरको ग्यारेन्टी हुँदैन। चार वर्ष अध्ययनमा बिताउनु भनेको अत्यन्तै लामो र खर्चिलो भएकाले भर्ना पछि पनि पढाई छाड्ने क्रम बढ्दो छ।’
नेता श्रेष्ठले प्राविधिक तथा सीपमूलक शिक्षा दिई विद्यार्थी स्वदेशमै अडिने वातावरण बनाउन समेत क्याम्पस परिवारलाई सुझाव दिए।