काठमाडौँ । सत्ताको आडमा राज्यका निकायहरूबीच सेटिङ गरेर स्मार्ट टेलिकमको नाममा भएको संगठित घोटालामाथि पछिल्लो समय छानबिन सुरु भएसँगै एनसेलमा कार्यरत विदेशी हाकिमहरूले समेत नेपाल छाडेका छन् ।
स्मार्ट टेलको नाममा भएको घोटालामा त्यसका सञ्चालक सर्वेश जोरी, सेटिङमा स्मार्ट टेलको सामान लिलाम सकारेर एनसेललाई बिक्री गर्ने कम्पनीका सञ्चालकद्वय नरेन्द्र उलक श्रेष्ठ र पालिना श्रेष्ठ पक्राउ परेपछि उनीहरूले नेपाल छाडेका हुन् ।
एनसेल आजियाटा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले लिलामीमार्फत एनसेलले सकार गरेका सामानको स्वामित्व हस्तान्तरण गर, यदि स्वामित्व हस्तान्तरण गर्न नसक्ने हो भने एनसेलले त्यस सामानबापत तिरेको चार अर्ब ६० करोड रुपैयाँ एनसेल कम्पनीको खातामा फिर्ता गरिदेऊ भनेर गत वैशाख २९ गते नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई पत्र लेखेका थिए ।
त्यसपछि भने उनीसहितका हाकिमहरू विदेश गएका छन् । उनी कहिले फर्कने हुन् वा नफर्कने के हो, केही बताइएको छैन । यद्यपि उनले अहिलेसम्म राजीनामा गरेका छैनन् । त्यसकारण उनी फर्कने अपेक्षा गरिए पनि कहिलेचाहिँ टुङ्गो छैन । स्मार्ट टेलको सामान लिलामको सम्बन्धमा भएको घोटालामाथिको छानबिनका क्रममा सरकारले सुरु गरेको नियन्त्रणमा लिने क्रम अझै रोकिएको छैन ।
यो कहाँसम्म पुग्ने हो भन्ने पनि स्पष्ट छैन । त्यही लिलामसँग सम्बन्धित बैंकका तीन अधिकारीहरू अहिले अर्धभूमिगत छन् भने स्मार्ट टेलसँग सम्बन्धित अधिकारीहरू पकाउ पर्ने डरले भूमिगत छन् । त्यही लिलामसँग जोडिएका नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन प्रमुख भुपेन्द्र भण्डारीलगायतका व्यक्तिहरू पनि पक्राउ पर्ने भयले त्रसित छन् ।
यही मेसोमा एनसेलका सीईओ माइकल फोले सुटुक्क सिंगापुर पुगेका छन् भने चिफ फाइनान्स अफिसर इनामुल कबीर, चिफ बिजनेस अफिसर साल्भाडोर एन्टोनियो, चिफ बिजनेस कन्जुमर अफिसर उपङ्ग दत्त, चिफ ह्युमन रिसोर्स अफिसर अफ्रिन हुदालगायतका एनसेलमा कार्यरत विदेशी अफिसरहरू पनि पक्राउ पर्ने डरले विभिन्न बहानामा लुसुक्क विदेश भासिएका छन् ।
एनसेल र स्मार्ट टेलका बीचमा खेलोमेसो मिलाउने सचिनलाल श्रेष्ठ आचार्य पनि सिंगापुर पुगेको स्रोतको भनाइ छ । स्मार्ट टेलको कर्जाका लागि मौखिक पर्सनल ग्यारेन्टी दिने एनसेलको २० प्रतिशत सेयरधनी भावना सिंहका पति सतीशलाल श्रेष्ठ आचार्य पनि पक्राउ गर्ने भयबीच सिंगापुरमै रहेका छन् ।
उनले नेपाली नागरिकता त्यागेर सिंगापुरको नागरिकता ग्रहण गरिसकेको र उनकी श्रीमती भावना सिंहले चाहिँ एनसेलको खेलोमेलो गर्नकै लागि विदेशी नागरिकता नलिएको स्रोतले जानकारी दियो । एनसेल र स्मार्ट टेल सतीशलालको योजनामा एकै घर परिवारका आपसी नातेदारहरूले सञ्चालन गरेका दूरसञ्चार प्रदायक दुई कम्पनी हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि पुरानो सरकारसँग सेटिङमा अनियमितता गरेको आशंकामा स्मार्ट टेलमाथि छानबिन तीव्र पारेको थियो र केही व्यक्तिहरूलाई पक्राउ गरिसकेपछि गत जेठ ३१ गते एनसेल कम्पनीको कार्यालयमा छापा मारेर केही महत्वपूर्ण कागजात, ल्यापटप र कम्प्युटरहरू नियन्त्रणमा लिएको थियो ।
सीआईबीले छानबिनलाई फराकिलो बनाउँदै लगेपछि एनसेलमा छापा मार्नुअघि नै बैंकलाई पत्र लेखेर एनसेलका सीईओ माइकल फोलेले रकम फिर्ता गर्न माग गरेका थिए र नेपाल छाडेका थिए ।