हतार र हतास र दवावमा मैले राजीनामा दिएको थिइनँ : कांग्रेस सभापति थापा

75

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूले कुनै हतार र हतासमा आएर राजीनामा नदिएको प्रष्टीकरण दिएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीको विधान अनुसार आफूले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा पेश गरेको जिकिर गरे ।

‘फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको परिणामको जिम्मेवारी लिएर उपसभापति विश्वप्रकाश शर्मासमक्ष आफ्नो राजीनामा प्रस्तुत गरेको थिएँ,’ थापाले भने, ‘नेपाली कांग्रेस पार्टीको विधानको व्यवस्था यही हो । सभापतिले राजीनामा दिन चाहेमा उपसभापतिसमक्ष दिने र उपसभापतिले केन्द्रीय समितिमा प्रस्तुत गर्ने । यसमाथि छलफल पनि भइसकेको छ ।’

उनले यो कुनै दबाब र ग्लानीको विषय नभएको भन्दै जवाफदेहीतालाई ध्यानमा राख्दै राजीनामा दिएको बताए । ‘मैले कुनै हतारोमा आएर राजीनामा दिएको पनि होइन । हतास भएर राजीनामा दिएको पनि होइन । विशेष महाधिवेशन नगरी निर्वाचनमा गएका थियौं भने त्यो निर्वाचनमा हामीले कसरी सामना गर्नुपर्थ्यो भन्ने कुरा निर्वाचित भएका र हामी निर्वाचित नभएकाले पनि बुझेका छौं,’ थापाले भने ।

साथै, उनले विशेष महाधिवेशन गरेर कमजोरी गर्‍यौं कि भन्ने कुरामा अलमलिएर आफू राजीनामाको निर्णयमा नपुगेको जिकिर गरे । ‘विशेष महाधिवेशन गरेर कहिंकतै कमजोरी गर्‍यौं कि भन्ने कुराको बारेमा एक निमेष पनि अलमलिएर यो निर्णयमा पुगेको थिइनँ,’ उनले भने, ‘कुनै दबाबबाट पनि यो निर्णयमा पुगेको थिइनँ ।’

थापाले जसले निर्वाचनमा मत नमागेको हो, उसलाई विशेष महाधिवेशनको महत्व थाहा नहुने दाबी गरेका छन् । राजीनामा अस्वीकृत भएपछि मंगलबार केन्द्रीय समिति बैठकमा सहभागी हुँदै सभापति थापाले आफ्नो जवाफदेहिता ठानेर राजीनामा दिएको बताएका हुन् ।

‘जसले मत माग्नुभएन, वा भोट हाल्न जानुभएन उहाँहरुलाई थाहा हुने कुरा भएन,’ सभापत थापाले भने, ‘जो साथी लाग्नुभयो उहाँहरुको सुझाव मेरो लागि शिरोधार्य हुने नै भयो ।’ जो निर्वाचनमा खटिएर लागे उनीहरूको सुझावका आधारमा जिम्मेवारीमा फर्किएको उनले बताए । आफूले राजीनामा स्वीकृत होस् नै भन्ने चाहेको पनि उनले बताए ।

उनले भने, ‘मैले गरेको निर्णय र निर्णयपछिको अर्को निर्णयले यो अध्याय सकियो ।’आफूले निर्वाचन लगत्तै राजीनामा दिन चाहेपनि केही प्राविधिक कारणले आफू रोकिएको सभापति थापाले बताए । विशेष महाधिवेशनपछि सभापतिको निर्णयको आधारमा निर्वाचनका प्रक्रिया पूरा गर्ने मेरो कर्तव्यभित्रको कुरा थियो ।

३ गते मैले सबै काम टुंग्याएर राजीनामा दिएको थिएँ,’ सभापति थापाले भने । सभापति गगन कुमार थापाले जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

उनले बैठकलाई सम्बोधन गर्ने क्रममा सार्वजनिक भएलगत्तै उक्त प्रतिवेदन कार्यन्वयन पनि हुनुपर्ने बताए । ‘त्यो प्रतिवेदन तत्काल सार्वजनिक पनि होस् । त्यो प्रतिवेदन अनुसार कार्यान्वयन पनि होस्,’ थापाले भनेका छन्, ‘जसले गल्ती गरेको छ उसले सजाय पाउने अवस्था बनोस् ।’

साथै, उनले बिना पूर्वाग्रह प्रतिवेदन कार्यान्वयन गर्ने कुरा अघि बढोस् भन्ने विषयमा आफ्नो पार्टी स्पष्ट अडान राखेको जानकारी दिए । ‘बिना पूर्वाग्रह यी कुराहरू अघि बढोस् भन्ने कुरामा नेपाली कांग्रेस पार्टी स्पष्ट अडान पनि राख्छ,’ थापाले भनेका छन् ।

भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गरिने

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन भदौमा गर्ने भएको छ। पार्टीको केन्द्रीय समिति बैठकमा सभापति गगन थापाले आगामी भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्। उनले कार्य तालिकासहित महाधिवेशनको मिति प्रस्ताव गरेका हुन्।

बैठकले छलफलपछि निर्णय लिने बताए। विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीको नियमित महाधिवेशन गर्न लागेको हो।

समाचार वर्गहरू