काठमाडौं – रौतहटमा हिरासतमा राखिएका विजयराम चमारको यातनाका कारण मृत्युको भनिएको घटनाको राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ ।
आयोगका प्रवक्ता वेद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै चमारको प्रहरी हिरासतमा रहँदा यातना दिइएको भनिएको घटनाको विषयमा आयोगको प्रदेश २ कार्यालय जनकपुरले अनुसन्धान सुरु गरेको जानकारी दिए ।
रौतहटको गरुडा नगरपालिका८ का निरञ्जन रामको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले पक्राउ गरी हिरासतमा राखिएको चमारको वीरगञ्जस्थित नेश्नल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।
आयोगले चमारको स्वास्थ्य परीक्षण प्रतिवेदनको प्रतिलिपी तथा पोष्टमार्टम प्रतिवेदनको प्रतिलिपी शीघ्र उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय रौतहट तथा त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभाग महाराजगञ्जलाई पत्राचार गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।
यी घटना नेपालको संविधान, ऐन कानुन र नेपालले अनुमोदन गरेका संयुक्त राष्ट्रसंघीय महासन्धिविरुद्ध रहेको भन्दै आयोगले यस्ता अमानवीय र आपराधिक घटनाको सूक्ष्म र निष्पक्ष छानविन तथा अनुसन्धान गरी घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेको छ ।
त्यस्तै, पीडित परिवारलाई तत्कालै उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र यस्ता घटना पुनरावृत्ति हुन नदिन सरकारको ध्यानाकर्षण गराएको छ ।