सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको मेलम्ची नदिमा आएको भीषण बाढिका कारण विस्थापित बनेका हेलम्बुका स्थानीय बासिन्दालाई सुरक्षीत स्थानमा सारिएको छ ।
निरन्तर पानी परिरहेकोले नदि किनारका बस्तिहरुलाई गाउँपालिका, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाको सहकार्यमा सुरक्षीत स्थानमा सारिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।
अध्यक्ष शेर्पाका अनुसार मेलम्ची नदि किनारमा पर्ने हेलम्बुक्षेत्रका नाकोते,तिम्बु,किउल,चनौटे, ग्याल्थुम लगायतका बस्तिमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुलाई वैकल्पिक बासस्थानको ब्यबस्थापन गरिएको हो । अहिले पनि नदिमा लेदो मिसिएको बाढी आइरहेकोले जोखिम न्यून भएतापनी टरि नसकेकोले सम्बन्धित सबैलाई सावधानी अपनाउन अध्यक्ष शेर्पाले अनुरोध गरेका छन् ।
“यो विपत्तिको समयमा हेलम्बुबासीको जस्तोसुकै समस्याको समाधानको लागि म तयार छु । संकटको समयमा संयमित भएर सावधानी अपनाउनुहुन म सबैमा अपिल गर्दछु ।” उनले भने “बाटोको कारण हामी शहर सँगको सम्पर्कमा रहन मुस्किल परेता पनि हेलम्बुका नागरिकको जीवन रक्षाका लागि कुनै कसर बाँकी राख्ने छैनौं ।” यहि परिस्थिति रहेको खण्डमा पनि अबको एक हप्ता भित्र हेलम्बुका नागरिकको दिनचर्या साविकको अवस्थामा फर्काउन सिङ्गो गाउँ पालिकाको ध्यान केन्द्रित गरिने पनि अध्यक्ष शेर्पाले बताए ।
“अहिले बिद्युत र टेलीफोन अवरुद्ध भएकोले सम्पर्कमा रहन कठिनाई परेकोहुँदा यथाशीघ्र बिद्युत र टेलिफोन सुचारु गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।” अध्यक्ष शेर्पाले मध्यबिन्दु अनलाइन सँगको कुराकानीमा भने “बिस्थापित हरुलाई खाद्यान्न र बैकल्पिक बसोबासको ब्यबस्थापन गाउँपालिकाले गर्नेछ भने काठमाडौं लानुपर्ने अवस्थाको बिरामीको उपचारका लागि पनि तत्कालै बैकल्पिक बाटोको ब्यबस्था मिलाइने छ ।”