हेलम्बुमा हिउँमा फसेको एडीबी टोलीको सकुशल उद्धार

37

काठमाडौँ – हेलम्बु क्षेत्रको हिमाली भेगमा हिउँमा फसेका एसियाली विकास बैंक (एडीबी)को विशेषज्ञहरूसहितको टोलीको स्थानीय प्रशासनले उद्धार गरेको छ । बिहीबार बिहान श्री एयरलाइन्समार्फत उनीहरूको उद्धार गरेको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेधनिधि खनालका अनुसार चिसोका कारण स्वास्थ्यमा सामान्य समस्या देखिएका ५ जनालाई काठमाडौं ल्याइएको छ । त्यस्तै बाँकी १० जनालाई भने उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ ।

एडीबीको अध्ययन टोली पहिरो अध्ययनका लागि मेलम्ची खोलाको उद्गमस्थल करिब ३६ सय मिटर उचाइमा बस्दै आएको थियो । हिउँ बाक्लिँदै गएर उनीहरू बस्दै आएको टेन्ट हिमपहिरोले बगाएको थियो । हिउँबाट ज्यान जोगाउन उनीहरू रातभर ओडारमा बसेको प्रजिअ खनालले जानकारी दिए ।

टोलीका पथप्रदर्शक सोनाम लामाले बुधबार ३ बजेर ४ मिनेट जाँदा कान्तिपुर टेलिभिजनकी सिन्धुपाल्चोक संवाददाता कमला पाख्रिनलाई फोन गरेर आफू हिउँपहिरोबाट जोगिन पानीले भिजेर खुला चौरमा बसिरहेको जानकारी दिएका थिए । टेन्ट बगाएको, लगातार पानी र हिउँ परिरहेकाले आफूहरू उद्धारको प्रतीक्षामा रहेको उनले फोनमा बताएका थिए । उनका अनुसार उक्त क्षेत्रमा ६–७ फिट हिउँ परेको छ । अप्ठेरोमा परेको भन्दै उनले कुरा टुंग्याउन नपाउँदै फोन सम्पर्क टुटेको थियो । श्री एयरलाइन्सको हेलिकोप्टरबाट सबै जना बुधबार फर्कने तयारी गर्दैगर्दै अघिल्लो दिन रातिबाटै अचानक वर्षात् र हिउँ परेका कारण टोली रोकिएको थियो ।

गत असार र साउनमा उक्त स्थानबाटै हिमपहिरो बगेर हेलम्बु र मेलम्ची क्षेत्रमा धनजनको ठूलो नोक्सानी गरेको थियो । पहिरोले मेलम्ची खानेपानीको मुहानलाई क्षति गरेकाले एडीबी टोली त्यसको अध्ययनका लागि एक साताअघि त्यता गएको थियो । एडीबी मेलम्ची आयोजनाको प्रमुख ऋणदाता हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले मेलम्ची आयोजनासँग जोडिएको विषय भएकाले अध्ययन गर्न जरुरी रहेको बताए । ‘मौसम यसरी बिग्रेला भन्ने अनुमान गर्न नसक्दा तत्काल समस्या देखिएको छ,’ उनले भने । कान्तिपुर

समाचार वर्गहरू