कांग्रेसमा गगनको जोखिमपूर्ण यात्रा : परिवर्तनको वैकल्पिक बाटो ?

95

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापा यतिबेला पार्टीभित्र र बाहिरबाट दोहोरो दबाबमा छन्।

एकातिर, पार्टीको संस्थापन पक्षले उनलाई नेतृत्वविरुद्ध विद्रोह गरेको आरोपमा घेरेको छ भने अर्कोतिर समाज र कांग्रेसका शुभचिन्तकहरूले पुरानो संरचना भत्काएर नयाँ नेतृत्व स्थापित गर्न उनलाई दबाब दिइरहेका छन्। कतिपय शुभेच्छुकले त स्पष्ट रूपमा ‘पुरानो पुस्तालाई भत्काएर अघि बढ, नभए नयाँ पार्टी बनाऊ’ भन्ने दबाब दिएका छन्।

भदौ २४ मा प्रदर्शनकारीको आक्रमणपछि सभापति शेरबहादुर देउवा घाइते भएर अस्पतालको बेडमा रहँदा थापाले नेतृत्व परिवर्तनको कुरा उठाएको भन्दै संस्थापन पक्षले उनलाई निशाना बनाइरहेको छ। यही घेराबन्दीबीच उनले विशेष महाधिवेशनको मागलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्, जसलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माको साथ र समर्थन छ। थापाको यो यात्राले कांग्रेसको भविष्यलाई कस्तो दिशा दिन्छ ?

थापाको राजनीतिक यात्रा सडक र समाजको संघर्षपूर्ण मुद्दाबाट सुरु भएको हो, नेताको चाकडी वा आशीर्वादबाट होइन। आन्दोलन र संघर्षको जगमा उभिएको उनको नेतृत्व शैलीले कांग्रेसभित्रको नयाँ पुस्तामा कसैप्रति आकर्षण छ भने उनी र अर्का महामन्त्री विश्वप्रकाश शर्माप्रति छ। तर, संस्थापन पक्षले उनलाई पार्टीको सुदृढताभन्दा व्यक्तिगत महत्वाकांक्षी नेताको रूपमा चित्रण गर्ने प्रयास गरिरहेको छ। पार्टीभित्र वैकल्पिक ध्रुव निर्माण गरेर विशेष महाधिवेशनमार्फत नेतृत्व लिने खोजिरहेको बुझाइ संस्थापन पक्षको छ।

संस्थापन पक्षले चित्रण गरेजस्तै महामन्त्री थापा विशेष महाधिवेशन आफू सभापति हुनकै लागि डाक्न खोजिरहेका हुन् त भन्ने प्रश्न पनि छ। तर, महामन्त्री थापा यस्तो प्रतिक्रिया अस्वीकार गर्छन्। पार्टी पुनर्गठन गरेर अहिलेको नेतृत्व, काम गर्ने शैली र सोच बदल्न आफू जस्तोसुकै मूल्य चुकाउन तयार भएर अघि सरेको बताउँछन्।

‘गएका वर्ष र दशकहरूमा हामीले जसरी समाजलाई पार्टीकरण गर्‍यौं, आजको गुनासोको प्रमुख कारण त्यही हो। हाम्रो दल र सरकार सञ्चालनको तरिकाले भ्रष्टाचारलाई टेवा दिने काम गर्‍यौं। अहिलेको पुस्ताको ठूलो आक्रोश त्यसैमा छ। हामी त्यो मार्गबाट कसरी अलग रहन्छौं भन्ने संकल्प र विश्वास सृजना गर्नुपर्ने भएको छ,’ थापाले कान्तिपुरसँग भने, ‘कांग्रेसले अब सबै कुरालाई सुधार गरेर नयाँ सोच र शैली बदल्नुपर्छ, नेता बदल्नुपर्छ। त्यसो गर्ने थलो चाहिन्छ। त्यो विशेष महाधिवेशन वा नियमित महाधिवेशन जे भए पनि हुन्छ। त्यसका लागि मैले नेतृत्व खोजेको छैन। म साधारण सदस्य भएर बस्न तयार छु। भुइँमा बसेर काम गर्न तयार छु।’

यी दुई महामन्त्रीका विचार र धारणाहरू राजनीतिक फाँटमा बहसको विषय मात्रै भए, कहिल्यै निर्णायक हुन सकेनन्। संस्थापनको प्रतिरोध, संगठनको कमजोरी र संख्याको अभावले पार्टीभित्र उनीहरूको हस्तक्षेपकारी भूमिका सफल हुन सकेन। भदौ २३ र २४ को जेन–जीको अगुवाईमा भएको आन्दोलन र त्यसपछिको प्रदर्शनले संख्याको नियम बदलेसँगै उनीहरूले अब पछि नफर्कने गरी रूपान्तरणका लागि अघि सरेको उद्घोष गरेका छन्।

‘भदौ २३ र २४ मा जे भयो, ती सबै कुराको गुनासो हामीसँगै छ। अपेक्षा पनि छ। त्यसलाई सम्बोधन गरेर नयाँ यात्रा सुरु गर्छौं भन्नुपर्ने हो भने त्यो प्लेटफर्म कहाँ छ? नयाँ महाधिवेशन सृजना गर्न सकिन्छ, गरौं। विशेष महाधिवेशन बोलाउन सकिन्छ, बोलाऔं,’ थापा भन्छन्, ‘यो असफलतामा शेरबहादुर देउवा मात्रै जिम्मेवार छैनन्। हामी सबै असफल भयौं। अब यही नेतृत्वको निरन्तरता धेरै समय राख्नुहुन्न। नयाँ नेतृत्व चयन गरेर जानुपर्छ, मेरो अहिलेको छटपटाहट यसैमा हो।’

खासगरी महामन्त्री थापाको राजनीति अहिले निर्णायक मोडमा छ। घेराबन्दी र दबाबबीच उनले पार्टीलाई नयाँ बाटोतर्फ धकेल्छन् वा वैकल्पिक बाटो रोज्छन् भन्ने प्रश्नको जवाफ दिनुपर्ने स्थिति बनेको छ। पार्टी सुधारको उनको प्रस्तावले सफलतापूर्वक संगठनलाई दिशा दिन सक्छ वा असफल भएमा उनलाई नयाँ राजनीतिक प्रयोगतर्फ धकेल्न सक्छ त? विश्लेषक खनाल भन्छन्, ‘पार्टीको सान्दर्भिकता जोगाउन जस्तोसुकै जोखिम पनि मोल्नुपर्छ। देउवाले मानेनन् भने जोखिम लिएरै हटाउनुपर्छ। बल पुगे बहुमतले हटाउने हो, नपुगे जेनजी आन्दोलनबाट जसरी दुई दलको सत्ता हटाइयो, त्यसैगरी हटाउनुपर्छ।’ कान्तिपुर दैनिक

समाचार वर्गहरू