अनि, निर्मल निवासले विज्ञप्तिमा पूर्वराजा लेख्न थाल्यो…

91

काठमाडौं – दसैंको सन्दर्भमा चार दिनअघि निर्मल निवासबाट जारी एउटा सन्देशले धेरैको ध्यान खिच्यो । दसैंको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहको तर्फबाट सन्देश आउनु नयाँ कुरा थिएन । तर, शुभकामना सन्देशसहित जारी विज्ञप्तिमा उल्लेखित शब्दले चर्चा पायो ।

‘पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट २०८२ विजया दशमीको उपलक्ष्यमा बक्सेको शुभकामना,’ सन्देशको सुरुवातमै भनिएको छ । पहिले निर्मल निवासबाट जारी हुने विज्ञप्तिमा ‘पूर्व’ भन्ने शब्द प्रयोग हुन्थेन । तर, यसपालि ‘पूर्व’ उल्लेख भएपछि १५ जेठ २०६५ मा राजतन्त्र अन्त्य भएपछि पहिलो पटक उनले हैसियत गुमाएको स्वीकारेका रुपमा अथ्र्याइयो ।

तर, निर्मल निवासको विज्ञप्तिमा पूर्वराजा उल्लेख हुन थालेको यो पहिलो पटक भने थिएन । जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिका बीच २४ भदौमा उनको सम्वाद सचिवालयबाट जारी विज्ञप्तिमा पनि ज्ञानेन्द्र शाहलाई पूर्व श्री ५ भनी सम्बोधन गरिएको थियो । ‘घटनामा ज्यान गुाएका ती होनहार आत्माप्रति पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव लगायत सम्पूर्ण राजपरिवारबाट हार्दिक श्रद्धाञ्जली बक्सँदै तिनका अभिभावक जनमा समवेदना बक्सेको छ,’ विज्ञप्तिमा भनिएको थियो ।

तर, पाँच महिनाअघिसम्म चाहिँ निर्मल निवासबाट जारी हुने विज्ञप्तिमा ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र विक्रम शाहदेव’ भनेर सम्बोधन गरिन्थ्यो । भारतको पहलगाममा भएको आतंकवादी आक्रमणलाई निन्दा गर्दै १३ वैशाखमा जारी सन्देशमा शाहलाई श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव मात्र लेखिएको थियो ।

ज्ञानेन्द्र शाहलाई पूर्वराजा भनेर सम्बोधन गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, कार्यकर्ता र अरु राजावादी समूहहरु निको मान्थेनन् । राजा कहिल्यै पूर्व नहुने उनीहरुको तर्क हुन्थ्यो । तर, राप्रपाका एक नेताका अनुसार, संवाद सचिवालयबाट २०७६ सालमा जारी केही विज्ञप्तिमा समेत शाहलाई ‘पूर्वराजा’ भनेर उल्लेख गरिएका छन् । तर, जब देशमा राजसंस्थाको पक्षमा आवाज सुनिन थाल्यो, त्यसपछि निर्मल निवासको विज्ञप्तिबाट ‘पूर्व’ भन्ने शब्द हटेको हो ।

‘त्यसै पनि राजा पूर्व भन्ने नै हुँदैन, त्यसमाथि देशमा जुन रुपमा राजसंस्थाको माग बढिरहेको छ, त्यस्तोमा पूर्व लेख्नु कुनै जरुरी थिएन,’ राप्रपाका ती नेताले भने ।

तर, १५ चैतमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको राजावादी प्रदर्शनले हिंसात्मक रुप लिएपछि परिस्थिति बिग्रियो । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद् धवलशमशेर राणासहित आन्दोलनको अग्रमोर्चामा रहेकाहरु पक्राउ परे । दुर्गा प्रसाईंसहित १०८ जनालाई प्रहरीले संगठित अपराध, अपराधिक उपद्रव, कर्तव्य ज्यानसहितका मुद्दा प्रहरी लगायो । त्यहीबीचमा कतिपयले राजावादी प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत जिम्मेवार बनाउनुपर्ने बताउन थाले, काठमाडौं महानगरपालिकाले प्रदर्शनसँग सम्बन्धित जरिवानाको पत्र निर्मल निवासमै पठाइदियो ।

प्रहरीले तिनकुने हिंसात्मक प्रदर्शनबारे अनुसन्धान गरिरहेका बेला १३ असारमा सम्वाद सचिवालयका नाममा फेरि ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजधिराज’ सम्बोधन गर्दै ७९ औं जन्मोत्सव मनाउने विवरण सार्वजनिक भयो । त्यो विज्ञप्तिमा ‘जनचाहना अनुसार निर्मल निवासमा आयोजना हुने समारोहमा मौसुफबाट शुभकामना तथा अभिवादन ग्रहण गरिबक्सने कार्यक्रम रहेको’ भनिएको थियो ।

त्यस्तोमा देशको संविधान, कानुन वा अरु कुनै पनि कानुनी विषयले नचिन्ने सम्बोधन उल्लेख भएको भन्दै प्रहरीले शाहका सम्वाद सविचालय प्रमुख फणिराज पाठकलाई जिल्ला प्रहरी परिसर, काठमाडौंमा बोलायो । ‘संविधानले नै नचिनेको श्री ५ महाराजधिराज भनेर पटकपटक लेखेपछि २७ असारमा सचिवालय प्रमुख पाठकजीलाई बोलाएका थियौं,’ त्यसबेला जिल्ला प्रहरी परिसर, काठमाडौंमा काम गरेका एक अधिकृतले कान्तिपुरसँग भने, ‘त्यसक्रममा उहाँले समेत गल्ती भएको स्वीकार्नु भएको थियो ।’

पूर्वराजा शाहको विज्ञप्तिलाई लिएर एमाले सांसद् ठाकुर गैरेले संसद् बैठकमा समेत आपत्ति जनाएका थिए । कानूनी राज्यको उपहास भएको भन्दै उनले संवाद सचिव पाठक र ज्ञानेन्द्र शाहलाई कारबाही गरिनुपर्ने बताएका थिए । त्यसपछि प्रहरीले पाठकलाई प्रहरी कार्यालयमा बोलाएको थियो ।

‘उहाँलाई दिनभर प्रहरी जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखेर सोधपुछ गरेका थियौं, त्यसक्रममा उहाँले हामीले भनेका कुराहरु रियलाइज गर्नुभयो,’ ती अधिकृतले भने, ‘प्रहरी कार्यालयमा ल्याइसकेकाले हामीले साँझ ५ बजेतिर उहाँसँग आइन्दा पूर्वराजा लेख्ने गरी लिखित सम्झौता समेत गरायौं ।’ सहमतिमा आफ्नो फेसबुकबाट त्यस्त म्यासेजहरु सम्प्रेषण नगर्ने, पहिले पोष्ट गरिएका म्यासेजहरु डिलिट गर्ने समेत उल्लेख थियो । ‘खासमा त्यो सहमतिपछि नै संवाद सचिवालयले पूर्वराजा भनेर विज्ञप्ति निकाल्न थालिसकेको थियो,’ ती अधिकृतले भने, ‘अहिले दशैंको बेला आएको सन्देशमा चाहिँ धेरैको ध्यान गयो ।’

And, Nirmal Niwas started writing Poorvaraja in the statement...

कान्तिपुर बाट

समाचार वर्गहरू