काठमाडौं – नेपालको पश्चिमी भू–भागबाट यस वर्षको मनसुन बाहिरिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाकोे सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज मनसुन बाहिरिए पनि पश्चिमी वायूको प्रभावका कारण विशेष गरी आज र मङ्गलबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराईका भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो ।
महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको र ती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षासमेत भइरहेको छ ।
ती प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातसमेत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । विशेष गरी कृषि र पर्यटन क्षेत्रमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
विभागका अनुसार चार दिन ढिला गरेर नेपालबाट मनसुन बाहिरिन थालको छ । मनसुन सामान्यतया २ अक्टोबरमा बाहिरिने भए पनि चार दिनजस्तो ढिला गरी आजदेखि मात्रै बारिन थालेको विभागले जनाएको छ ।