कुटाइ खाने पनि, नेतृत्व छोड्ने पनि देउबामात्रै – नारायण गाउँले

50
कुटाइ खाने पनि देउबामात्रै, नेतृत्व छोड्ने पनि देउबामात्रै हुने भए ! धेरैपल्ट प्रधानमन्त्री बन्नेमा उनको नाम दरिए पनि गत बीस वर्षमा उनी एक-एक वर्ष गरेर जम्मा दुई वर्ष जति मात्रै प्रधानमन्त्री बनेका रहेछन् । त्यो पनि, प्रचण्डसँग मिलेर ।
खासमा उनलाई चुनाब गराउने जिम्मा थियो, जुन उनले गराए । चुनाब निष्पक्ष थियो भन्ने कुरा उनकै पार्टी पराजित हुनु, उनैले गराएको चुनाबमा बालकृष्ण खाँड़जस्तो शक्तिशाली नेता पराजित हुनु र देशभर रास्वपाले राम्रो मत पाउनुले पनि देखाउँछ ।
सङ्ख्या धेरै भए पनि एउटा कार्यकाल पनि उनले पूरा गर्न पाएका थिएनन् ।
पछिल्ला दशकमा पहिलो पार्टी भएर पनि उनी झर्ला र खाउँलाकै स्थितिमा देखिए । उनी हेरेको हेर्यै भए । पहिलो पार्टी भएर पनि बीस तीस वर्षमा कांग्रेसले कहिल्यै एकल सरकार चलाएन । दोस्रो-तेस्रो पार्टीका अध्यक्ष प्रचण्ड र ओलीले पालैपालो उनलाई उधारो प्रधानमन्त्री दिएर आफू प्रधानमन्त्री बनेका थिए । यसपालि पनि उनको पालो आउनेमा शङ्का नै थियो । कांग्रेसभन्दा सानो दल भएर पनि ओली, झलनाथ, माधव नेपाल प्रधानमन्त्री बने, यसैबीच प्रचण्ड, बाबुराम र खिलराज रेग्मीहरू पनि प्रधानमन्त्री बने । धेरै जीवित पूर्वप्रधानमन्त्रीमध्ये कांग्रेसका देउबामात्रै हुन् । आफैमात्रै खान खोजेकाले हो कि ?
समग्र राजनीतिको बेथितिमा उनको हिस्सा ठूलो छ तर गत बीस वर्षमा भएका राजनैतिक भ्रष्टाचार, लेनदेन र राज्यस्रोतको शोषणमा उनको हिस्सा अन्यजत्तिको छैन । आजको चरम निराशाको मुख्य पात्र उनी नै भए पनि उनले भीड़को उत्तेजना बढाउने, गालीगलोज गर्ने, अन्य नेतालाई दलाल या भ्रष्ट भनेर आरोप लगाउने, आन्दोलनकारी शक्तिलाई विदेशी एजेन्ट भनेर अपमान गर्ने काम गरेनन् । प्रजातान्त्रिक मूल्य र नागरिक हक कुण्ठित हुने कुरामा उनले समर्थन जनाएनन् । गगन थापालगायतका नेताले बारम्बार उनीविरुद्ध वक्तव्य र उम्मेदवारी दिए पनि उनले जबाफ फर्काएनन् । कारवाहीको डण्डा चलाएनन् । व्यापारीसँग जग्गा लिनु राम्रो होइन भनेकै भरमा एमालेमा बिन्दा पाण्डेहरू कारवाहीमा परेको इतिहास छ । कांग्रेस सरकारमैं थियो, यो आन्दोलनको जिम्मा उनको पनि हो । तर गृहमन्त्रीले २३ मैं राजीनामा दिएको दिन ओलीले पनि राजीनामा दिएको भए भोलिपल्ट स्थिति यति बिग्रिने थिएन कि ?
माओवादीले त नाममात्रको महाधिवेशन गरेर प्रचण्ड छान्ने अनि अरू सबै प्रचण्डले छान्ने गरेको थियो । अब पनि यसो कर्मकाण्ड पूरा गरेर उनै आउलान् ।
तर विधानअनुसार दुई कार्यकाल पूरा गरेकाले केपी ओली र देउबा अब अध्यक्ष या सभापतिमा दोहोरिन मिल्दैनथ्यो ।
जेनजी आन्दोलन घोषणा भएपछि ओलीले आफ्ना लागि विधान नै चेन्ज गरेर भविष्यमा जतिपल्ट पनि अध्यक्ष बन्न पाइने निर्णय गराएका थिए । पार्टीको विधान नै चेन्ज गरेर सधैँका लागि बन्न चाहेका उनले छोड्ने कुरो भएन ।
देउबाले त्यो बाटो रोजेनन् । अनुमानविपरीत महाधिवेशनसम्म पनि नपर्खी उनले पार्टीको जिम्मा पार्टीलाई नै सुम्पिने छाँट र आँट देखाए । अब उनलाई देखाएर, गाली गरेर अन्य कांग्रेसीले आफ्नो अक्षमता र कमजोरी लुकाउन मिल्दैन ।
देउबाले पहिलो दल भए पनि राजनैतिक कौशल प्रदर्शन गर्दै सरकारको नेतृत्वमा पार्टीलाई लैजान सकेनन् । कहिले एक्लै चुनाब जित्ने दल माओवादीसँग मिलेर पनि सानै रह्यो । यसको जिम्मा उनकै हो । प्रहरीभित्रको बढुवा होस् कि राजदूत नियुक्त गर्दा होस्, पैसा भरिएका ब्रीफकेस आदानप्रदान भएका कुरा पनि ओपन सिक्रेट नै हो । कांग्रेस नेतृत्वमा नरहे पनि धेरै सरकारमा सहभागी थियो । एउटा गतिलो सरकार बनेको दिन एकएक पैसा र रुपियाँको स्वस्थ छानबिन र हिसाबकिताब त हुनैपर्छ ।
जे होस्, ढिलो भए पनि, खास अर्थ बाँकी नरहे पनि आन्दोलनमा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै उनी साइड लागे । यो भनेको आन्दोलनको र अहिलेको पुस्ताको भावनाको सम्मान हो । अहिलेको पुस्ताले देउबालाई फेरि प्रधानमन्त्रीको कुर्सीमा देख्न चाहेको छैन, यो क्लियर सत्य हो । उनलाई धन्यवाद । उनले समयमैं यस्तो निर्णय लिएको भए राजनीतिमा यति धेरै निराशा न आउन पनि सक्दो हो ।
यसैलाई देखाएर कांग्रेस सच्चिएको चाहिँ भन्न मिल्दैन । सच्चिने भनेको नेता फेरिने मात्रै होइन । तर त्यो पनि एक त हो ! यो सुरुवात हुन सक्छ । अन्य दलका लागि पनि उदाहरण बन्न सक्छ । दलबिना लोकतन्त्र सम्भव छैन । त्यसैले दल सच्याउनु हामी सबैको कर्तव्य हो । झकझक्याउन नछोडम् । नारायण गाउँलेको फेसबुक वालबाट

समाचार वर्गहरू