नेपाल ट्वान्टी–२० विश्वकपमा छनोट

34

काठमाडौं – नेपाल लगातार दोस्रो पटक ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ ।

ओमानसँग बुधबार ट्वान्टी–२० विश्वकप एसिया–इष्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स खेल खेल्नुअगाडि नै नेपाल र ओमान दुवैले ट्वान्टी–२० विश्वकपमा छनोट भएका हुन् ।

ओमानको मस्कटमा भइरहेको प्रतियोगिताको बुधबारको दुवै खेलमा आफू अनुकूल नतिजा आएपछि नेपाल र ओमान ट्वान्टी–२० विश्वकपका लागि छनोट भएका हुन् ।

दिनको खेलमा कतारले जापानलाई ३ विकेटले र यूएईले सामोआलाई ७७ रनले पराजित गरेपछि नेपाल र ओमान लगातार दोस्रोपटक विश्वकपमा पुगेका हुन् । २०२३ मा काठमाडौंमा भएको एसिया छनोटको शीर्ष दुई स्थानमा रहँदै नेपाल र ओमान विश्वकपमा पुगेका थिए ।

नेपाल लगातार दोस्रो पटक ट्वान्टी–२० विश्वकपमा पुगेको हो । सन् २०१४ मा बंगलादेशबाट नेपालले ट्वान्टी–२० विश्वकपको ढोका खोलेको थियो । १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा पुनरागमन गर्नेक्रममा नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप खेलेको थियो । ट्वान्टी–२० विश्वकप २००७ देखि सुरु भएको हो । नेपालले २००७ देखि नै यसको छनोट खेल्दै आएको छ ।

फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा २० राष्ट्र सम्मिलित आईसीसी ट्वान्टी–२० विश्वकपको १० औं संस्करण आयोजना हुँदै छ । भारत र श्रीलंका आयोजक राष्ट्र भएका कारण ट्वान्टी–२० विश्वकपमा सोझै छनोट भएका हुन् ।

समाचार वर्गहरू