रेटी शब्द र अर्थका मधुरता पार्छस् चुली दोषका
आलङ्कारिक स्वाद भेटिनँ कतै, छन् के दशा लोकका ?
छैनन् वाक्य कतै सुकोमल तँमा शैली कला शून्य छन्
सुख्खा शब्द हुँदा सिँगार नहुँदा सौन्दर्य निस्पट्ट छन् ॥
जाली शोषकमा सियोसम बनी घोचिस् चिलिस् वा कतै ।
रोपिस् जीवनबीज? वा कहरका पीडा छिलिस् वा कतै ।।
केके शब्द चुनिस्? उनिस् गरिबका बाधा उखेलूँ भनी
पीडा मानवका उधार्न नसके के चोप्तछस् लेखनी ?
नारीका करुणामयी विवशता लेखिस् कतै पत्रमा ।
भारीकै भर बाँच्छ जीवन कतै पोखिस् कतै चित्रमा ।।
बोक्छस् केवल जिन्दगीभरि फिका आदर्श संवर्द्धनी ।
छ्याङ्ङै पोख्न कथाव्यथा नसकिए भाँचे भयो लेखनी ॥
संवर्द्धनी= कुचो तेरो लेखनले कतै गरिबको टिप्ला र संवेदना ।
तेरा सिर्जनले कतै प्रकृतिको खिप्ला र अभ्यर्थना ।
पोख्छस् के तँ जमेर रुग्ण जनका गाथा व्यथा जीवनी ।
छ्याङ्ङै दु:खकथा उधिन्न नसके के चोप्तछस् लेखनी ?
बोकी नित्य छियाछियासम हिया खोजेर आशाकण ।
हेर्दै बित्तछ रात नागरिकका तारा सितारागण ।।
ती उद्वेलित दर्दनाक दिलमा भन् के दलिस् ओखती ।
घोटी नीरसको सुखा कलमले तुन्छस् गथासा कति ।।
तैँले लेख्नु छ आम नागरिकका टन्टा बखेडाहरू ।
तैँले पोख्नु छ जिन्दगीगरिबका नाना तरानाहरू ।।
लिप्तैनस् यदि जीवनी विरहका मिल्काइदे लेखनी ।
टिप्तैनस् यदि जिन्दगी कहरका ठुन्क्याइदे लेखनी । ।