काठमाडौं महानगरद्धारा ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सञ्चालन

59

काठमाडौं – काठमाडौं महानगरपालिकाले  ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ ।

४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई समाज र सहर विकासमा भरपुर उपयोग गर्ने मुख्य उद्देश्यले यो कार्यक्रम अघि सारेको हो ।

कामपाले विभिन्न क्षेत्रमा लामो अनुभव हासिल गरेका नागरिकलाई अवकाशपश्चात् पनि समाज र देशको विकासमा योगदान दिने अवसर प्रदान गर्न यो कार्यक्रम ल्याइएको कामपा शहरी योजना आयोगका सचिवालय सदस्य विवेक बास्तोलाले जानकारी दिए ।

‘सिल्भर भोलिन्टियर कार्यक्रम’ का सन्दर्भमा योजना आयोगका सचिवालय सदस्य विवेक बास्तोलाले भने, “तपाईं ४५ वर्ष पूरा हुनुभएको छ ? जागिर वा व्यवसायबाट अवकाश लिनुभएको छ ? अवकाशपछि बिश्रामभन्दा पनि समाजका लागि केही योगदान गर्ने सोच छ भने आउनुहोस् सँगसँगै महानगरको विकासमा हातेमालो गरौँ ।”

कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, प्रशासन, सहरी विकास, सम्पदा संरक्षणलगायतका क्षेत्रमा कामपासँग मिलेर काम गर्न सकिने जनाइएको छ ।

महानगरले ‘कामपा–सिल्भर–भोलिन्टियर–कार्यविधि’ बमोजिम आवेदन आह्वान गरेको हो। कार्यविधिमा उल्लेख भएअनुसार योग्यता पुगेका नागरिकले अनलाइन लिङ्कमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

इच्छुक व्यक्तिलाई कार्यक्रमका बारेमा जानकारी आवश्यक परे ९८४८०१८२१५ मा सम्पर्क गर्न समेत कामपाले आग्रह गरेको छ ।

समाचार वर्गहरू