काठमाडौं – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि बुधबार विश्वासको मत लिने भएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले बुधबार विश्वासको मत लिन लागेको जानकारी दिए ।
मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन भनिए पनि आफूले परमादेशको पत्र मंगलबार दिउँसो ३ बजे मात्र प्राप्त गरेको हुँदा सोही आधारमा विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्रसमेत पठाइसकिएको बताए ।
सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको थियो ।
मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ जना सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा सर्वोच्च अदालतले यसअघि पनि दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।
