पहिचानकेन्द्रित राजनीतिक दलको उदय

75

काठमाडौं – आफ्नै समुदायको पहिचान र अधिकारका मुद्दा उठाउँदै दुई नयाँ राजनीतिक दल चुनावी मैदानमा प्रवेश गरेका छन् ।

२१ फागुनमा हुने निर्वाचन लक्षित गर्दै दलित र लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई केन्द्रमा राखेर नयाँ दल उदाएका हुन् । मधेशी र जनजाति पहिचानमा आधारित दलहरू अहिले पनि सक्रिय छन् ।

दलित समुदायका अधिकारका लागि खगेन्द्र सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल बनेको छ भने लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिचान र प्रतिनिधित्व एजेन्डा बनाएर गठन भएको समावेशी समाजवादी पार्टीको नेतृत्व नुमा लिम्बूले गरेकी छिन् । दुवै दल आगामी निर्वाचनका लागि आयोगमा दर्ता भएका छन् । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको तर्फबाट खुलेको समावेशी समाजवादी पहिलो पार्टी हो ।

दलित अभियन्ता सुनारले बिहीबार घोषणा सभा गर्दै उपेक्षामा परिरहेको करिब ६० लाख दलित समुदायको हकहितका लागि आफ्नो दल लड्ने प्रतिबद्धता जनाए । जाजरकोटको भेरी किनारामा नवराज विकसहित ६ जनाको हत्या र त्यसपछि सुरु गरिएको न्याय र आत्मसम्मानको आन्दोलनलाई सदनमा पुर्‍याउन दल खोलेको उनले बताए । ‘जाजरकोटको भेरी नदी किनारबाट सुरु भएको सत्य र न्यायको आन्दोलन संसारभर फिँजाउँदै लैजाने क्रममा आज एउटा दलको रूपमा घोषणा गरेका छौँ,’ उनले भने ।

दलित समुदायलाई राजनीतिक मूलधारमा ल्याउन पार्टीले काम गर्ने उनले बताए । ‘हिजो सडकमा उठाएका पीडा, अपमान, अन्याय र हिंसाका मुद्दालाई संगठित राजनीतिक शक्तिका रूपमा संसद्सम्म पुर्‍याउन आएका हौँ,’ उनले भने । राष्ट्रियता, लोकतन्त्र र आत्मसम्मान पार्टीको मूल मर्म भएको र त्यसलाई आत्मसात् गरेर अगाडि बढ्ने उनले बताए ।

आफूहरू जनताले लेखेको संविधानको पक्षमा रहेको भन्दै संविधानमा भएका कमी–कमजोरी सच्याउन संशोधन वा नयाँ ढंगले लेख्ने पक्षमा रहेको बताए । संविधानमा लेखिएको दलितको पक्षका कुराहरू कार्यान्वयनका लागि आवाज उठाउने बताए । दलित सक्षम र नेतृत्वका लागि योग्य छन् भन्ने सन्देश दिन उनले चुनावमा स्वयं उम्मेदवारी दिने घोषणा गरे ।

यस्तै, लिम्बूले स्थापना गरेको समावेशी समाजवादी पार्टीले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिचान र अधिकारलाई आफ्नो मूल मुद्दा बनाएको छ । पार्टीकी सचिव सन्ध्या लामाले ०६२/६३ को आन्दोलनपछि गणतन्त्र आए पनि सबै वर्ग तथा समुदायको प्रतिनिधित्व सुनिश्चित हुन नसकेकाले नयाँ दलको आवश्यकता देखिएको बताइन् । ‘हामीले वर्षौँसम्म हाम्रो आवाज अरूले उठाइदेलान् भनेर प्रतीक्षा गर्‍यौँ, तर भएन,’ उनले भनिन्, ‘त्यसैले अब हामी आफैँ संसद्सम्म पुग्नुपर्छ ।’

राज्यले आफ्नो समुदायका मुद्दा सम्बोधन नगरेको लामाको आरोप छ । नागरिकतामा पहिचानअनुसार दिने प्रतिबद्धता भए पनि कार्यान्वयन कमजोर रहेको, समलिंगी विवाहका मुद्दा वर्षौँदेखि अल्झिन छाडेको उनले बताइन् । पार्टी चुनावमा जाने तयारीमा रहेको र देशभर छलफल गरेर उम्मेदवार टुंग्याइने उनले सुनाइन् । उनका अनुसार यो दल लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबाट गठन भएको पहिलो राजनीतिक संरचना हो ।

लामाले पार्टीको मूल एजेन्डामा लोकतान्त्रिक गणतन्त्र, करुणामूलक शासन, वातावरण र प्रविधि समावेश रहेको बताइन । समुदायकेन्द्रित मुद्दामा नागरिकता, वृद्धाश्रम, समलिंगी विवाह, सामाजिक सुरक्षा भत्ता रहेको उनले बताइन् । यस्तै, विद्यालयदेखि परिवारसम्मका विभेदकारी सोच परिवर्तन गर्न अभियान सञ्चालन गरिने उनको भनाइ छ । संसद्मा दुई–तीनजनासम्म प्रतिनिधित्व गराउने लक्ष्य पार्टीले राखेको उनले बताइन् ।

सचिव लामाका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले समावेशी समाजवादीलाई शुभेच्छा व्यक्त गरेकी छिन् । उनले प्रवक्ता प्रतीक्षा चापागाईंसँग भेटेर आगामी चुनावमा संसद्मा उपस्थिति जनाउन शुभकामना दिएको बताइन् । निर्वाचन प्रणाली, समावेशिता र प्रविधिसम्बन्धी विषयमा कार्की प्रभावित भएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत पनि पार्टीलाई सफलताको कामना गरेकी थिइन् । नयाँपत्रिका

समाचार वर्गहरू