काठमाडौं । आगामी फागुन २१ गते गरिने भनिएको प्रतिनिधिसभा चुनावमा प्रचार प्रसारका क्रममा धेरै झण्डाको प्रयोग नगर्न र राजनीतिक दललाई निर्वाचन आयोगले निर्देशन दिर्दै नयाँ व्यवस्था प्रस्ताव अघि सारेको छ। आयोगले कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस कोणसभा वा घरदैलो जस्ता कार्यक्रममा १० वटा मात्रै झण्डाको प्रयोग गर्न निर्देशन दिएको समेत बताइएको छ । दलको झण्डा आवश्यकताभन्दा बढी प्रयोग गरेर दुरुपयोग नहोस् भन्ने मनसायका साथ आयोगले त्यस्तो प्रबन्धको प्रस्ताव गरेको हो।
आयोगले उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाई तीन बाइ चार फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न बाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै पनि प्रकारको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने उल्लेख गरेको छ। प्रस्तावित आचारसंहितामा १० वटा झण्डा र चुनाव चिन्ह प्रयोग गर्न तथा राजनीतिक दल तथा उम्मेदवारको नाम र चिन्ह भएको एउटामात्रै तुल वा फ्लेक्स राख्न पाइने प्रस्ताव गरिएको छ।
यसैगरी निर्वाचन प्रचारका लागि घरदैलोमा जाँदा उम्मेदवार, प्रस्तावक, समकर्थकसहित २५ जनाभन्दा बढीको जुलुस प्रदर्शन गर्न पाइने छैन। चुनाव प्रचारका क्रममा जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने व्यवस्था पनि गर्न लागिएको छ। अनलाइन, वेवपेज, टिभी, स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैंकका एटिएम, काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवारबारेमा कुनै पनि प्रचारप्रसार गराउन पाइने छैन। तर, राजनीतिक दल वा उम्मेदवारले बढीमा एउटा निजी र आधिकारिक वेवपेजमा त्यस्तो प्रचार सामग्री राख्न भने बाधा नपर्ने उल्लेख छ।