“सक्नेले मलाई सहयोग गरिदिनुहोला, नसक्नेले तङ नगरी दिनुहोला” – गगन थापा

77

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक नगर्ने व्यक्ति क्रियाशील सदस्यका रूपमा नरहने स्पष्ट पारेका छन्। जरा अभियान अन्तर्गत कांग्रेसको ‘ग्रान्ड रिफर्म’ कार्यक्रमको सुरुवात गरेको उनको प्रष्टोक्ति छ । उनले पार्टीभित्र सदस्यता प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन अद्यावधिक अनिवार्य गरिएको बताए ।

आफ्नो वडा कार्यालयबाटै सदस्यता अद्यावधिक प्रक्रिया सुरु गर्दै यसलाई पार्टी विधानअनुसार आवश्यक र अनिवार्य भएको बताए । वैशाख १५ गतेभित्र सबै क्रियाशील सदस्यहरूले आफ्नै वडामा गएर सदस्यता अद्यावधिक गर्नुपर्ने निर्देशन दिए । देशका विभिन्न जिल्ला(दोलखा, गोरखा, रोल्पा लगायतका स्थानका सदस्यहरूलाई पनि आफ्नो ठाउँमा फर्केर प्रक्रिया पूरा गर्न आग्रह गरे ।

सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटाइज गरिएको समेत बताए । स्वयं फर्म भरेपछि प्रणालीमा इन्ट्री भएको र ओटिपीमार्फत प्रक्रिया पूरा हुने बताए। सदस्यतासम्बन्धी भ्रम र अफवाह नफैलाउन आग्रह गर्दै उनले कुनै जिज्ञासा भए पार्टीको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न अनुरोध गरे । हिजो पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकाल्दै सदस्यता कसैले खारेज गर्न नसक्ने बताएका थिए ।

फेरि सदस्यता अद्यावधिक गर्न लागेकोप्रति देउवा पक्षको आपत्ति छ । जवाफमा गगनले भने, ‘कसैले केही कुरा बुझ्नुभएको छैन केन्द्रीय कार्यालय आइदिनुहोला पार्टीको जिम्मेवार साथीहरू जिम्मामा हुनुहुन्छ यो कुरा बुझाइदिनु हुन्छ केन्द्रीय प्रतिनिधिहरू जानुभएको छ तर बाहिर हाम्रो सदस्यता खाइदिन लाग्यो, कसैले खोस्न सक्दैन भनेर अनावश्यक कोलाहल मच्चाइदिने काम नगर्दिन आग्रह गर्न चाहन्छु ।’ उनले सक्नेले आफूलाई सहयोग गर्न भन्दै नसक्नेले डिस्टर्ब नगर्दिन समेत आग्रह गरे ।

उनले भने, “मैले राख्ने लचकता र विनम्रतालाई कृपा गरेर कमजोरी नठानी दिनुहोला । म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु ।”

उनले आफू पनि पार्टीको विधानले बाँधिएको बताए । “सक्नेले मलाई सहयोग गरिदिनुहोला, नसक्नेले तङ नगरी दिनुहोला,” उनले भने ।

समाचार वर्गहरू