काठमाडौँ । नेपाल सरकारका अहिलेका मन्त्रीहरूसँग सार्वजनिक प्रयोगको नम्बरबाहेक पनि अर्को नम्बर छ, जुन कसैलाई बताउँदैनन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र उनीहरूबिच सम्पर्कका लागि मात्र प्रयोग हुने उक्त नम्बरबारे परिवार, आफन्तलगायत कसैलाई पनि जानकारी नभएको बताइन्छ ।
हरेक कुरामा फरक शैली अपनाउन खोज्ने प्रधानमन्त्री शाहले यस्तो प्रयोग लागू गरेका हुन् । उनको निर्देशनअनुसार प्रधानमन्त्री कार्यालयले सबै मन्त्रीहरूलाई नयाँ मोबाइल सेट र सिम किनिदिएको स्रोतको भनाइ छ ।
उनीहरूसँग नेपाली बजार मूल्य करिब एक लाख ८० हजार पर्ने आइफोनको पछिल्लो संस्करणको मोबाइल सेट पनि उपलब्ध गराइएको छ ।
विशेष स्रोतका अनुसार प्रधानमन्त्री शाहले कुनै पनि मन्त्रीका अरू कुनै सार्वजनिक नम्बरमा फोन गर्दैनन् र गोप्य नम्बरबाहेकका फोन उठाउँदैनन् पनि ।
त्यसै पनि सार्वजनिक अभिव्यक्ति र सहज पहुँचबाट टाढा रहने प्रधानमन्त्री शाहले मन्त्रीहरूसँग पनि आवश्यक परे मात्र गोप्य नम्बरमा सम्पर्क गर्दछन् ।
प्रधानमन्त्रीसँग मात्र कुराकानी गर्न अतिरिक्त सेट र सिम बोक्नु परेपछि कैयौँ मन्त्री सशङ्कित बनेका छन् । अप्ठ्यारो महसुस गरे पनि उनीहरू असन्तुष्टि र फोन नम्बर दुवै सार्वजनिक गर्दैनन् ।