काठमाडौं । गर्भपतनका क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको ज्यान गएको घटनामा जोडिएका बुटवलका दुई चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । खत्री नर्सिङ होमका सञ्चालक समेत रहेका डा. डीबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा. सतिष रुपाखेतीलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरि रहेको बताइएको छ ।
मृतकका पति प्रकाश पाण्डेले गिताको मृत्युमा आर्थिक लाभको उद्देश्य राखेर चिकित्सकले गम्भीर लापरवाही गरेको आरोप लगाई डा. खत्री र रुपाखेतीसहित पाँचजना विरुद्ध किटानी जाहेरी दिएपछि उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरकेो प्रहरीले जनाएको छ ।
दुई डाक्टर बाहेक जोनल फार्मेसीका सन्ध्या बस्नेत र निलम घर्ती मगर तथा इन्दुलेखा स्वास्थ्य क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेमाथि अनुसन्धान र कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी परेको बताइएको छ ।
बस्नेत, घर्ती र पाण्डे मंगलबार बिहान नै पक्राउ परेका थिए । डा खत्री र रुपाखेती मंगलबार बेलुका अबेर आफैं प्रहरी कार्यालय गई आत्म समपर्ण गरेको बताइएको छ । पाल्पाको बगनासकाली गाउँपालिका २ ख्याहाकी २९ वर्षीया गीता पाण्डे चैत २७ गते खत्री नर्सिङ होममा करिब १२ हप्ताको गर्भ जाँचका लागि गएको बताइएको छ ।
त्यहाँ नर्सिङ होमका सञ्चालक डा. डिबी खत्रीले गर्भ असामान्य छ भनी थप उपचारका लागि वैशाख ४ गते बोलाएको र पाण्डे वैशाख ५ गते श्रीमान् प्रकाश सहित नर्सिङ होम गएको पाइएको छ । तर सो नर्सिङ होमले गीतालाई लोकेसन म्याप दिएर बुटवल अस्पताल लाइनको जोनल फार्मेसी क्लिनिकमा पठाएको थियो ।
त्यहाँ फार्मेसीले गर्भपतनको १६ हजार शुल्क लाग्छ भन्दै २ हजार एड्भान्स लिएर दुईथरि औषधी दिएर अर्को दिन आउन भनेको थियो । जोनलबाट फेरि इन्दु लेखा क्लिनिकमा पुर्याई गर्भपतन गराउने क्रममा उनको मृत्यु भएको थियो । ईन्दु लेखा क्लिनिकमा डा. सतिष रुपाखेतीले गीताको जाँच गरेको मृतकका पति प्रकाशले बताएका छन् ।
प्रकाशले गर्भपतन गराइएको भ्रुण आफूले नदेखेको भन्दै श्रीमती बेहोस् भइसकेपछि आफूलाई कुनै जानकारी नदिई लुम्बिनी सिटी अस्पतालको इमर्जेन्सी कक्षमा लैजाँदा डाक्टरले मृत घोषित गरेको बताए । रक्त सञ्चार सेवा केन्द्रकी जागिरे समेत रहेकी गीतालाई कुनै दीर्घ रोग नभएको र स्वस्थ रहेको पति प्रकाशको भनाइ छ ।
‘पैसा कमाउने उद्देश्य राखेर उपचारमा गम्भीर लापरबाही भएको छ,’ प्रकाशले भने, ‘गीताको न्याय र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आर्थिक लाभको जालोमा जोडिएर गरिएका यस्ता घटनाको निष्पक्ष छानबिन अनि कारबाही हुनुपर्छ ।’
गीता पहिलो छोरा जन्मिएको ५ वर्षपछि दोस्रोपटक आमा बन्ने तयारीमा थिइन् । प्रकाशले गीताको मृत्यु भएपछि जोनल फार्मेसीले खत्री नर्सिङ होमले दिएको लोकेसन कार्ड र अन्य उपचारका रिपोर्टहरू लुकाएको बताएका छन् ।