काठमाडौं । मंगलबार राति अबेरसम्म लम्बिएको सुरक्षा प्रमुखसहितको छलफलमा गृहमन्त्री सुधन गुरुङले आफूले राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले हटाउनेमध्ये दुबै सम्भावना नरहेको बताएका छन् । उनले प्रहरीद्वारा अनुसन्धानरत मुद्दाहरूको स्थिति बुझ्नुका साथै आफ्नोबारे मिडियाबाजीमा को–को संलग्न हुन सक्छन् भन्ने चासो राखे । एक सहभागीले बताएअनुसार आफू मन्त्री पदबाट राजीनामा नदिने र प्रधानमन्त्रीले पनि नहटाउने भन्दै कामहरू फटाफट अगाडि बढाउन भनेका थिए ।
छलफलका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) मा अनुसन्धानरत मुद्दाहरूको अवस्थाबारे उनले पटक–पटक चासो राखे । आईजीपीको प्रत्यक्ष नियन्त्रणमा रहने र एआईजी कार्यालय प्रमुख रहने उक्त निकायले ठूला ठूला मुद्दा र घटनाको अनुसन्धान गर्ने गर्दछ । व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल सहितकाविरुद्ध अहिले चलिरहेको सम्पत्ति शुद्धीकरण मुद्दामा उनको मुख्य चासो थियो । उक्त मुद्दाहरूको अब पक्राउ पर्नसक्ने व्यक्तिबारे चासो राखेका थिए ।
त्यसक्रममा आईजीपी दानबहादुर कार्कीले अर्कै कामका निम्ति मन्त्रालय पुगेका सिआईबी प्रमुख डा।मनोज केसीलाई उक्त छलफलमा बोलाएका थिए । केसीले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धान सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाटै भइरहेको र उक्त विभागले परिपत्र गरेका आधारमा मानिस पक्राउका निम्ति प्रहरीले सहजीकरण मात्रै गर्ने बताए । भट्ट, अग्रवालसहितका व्यवसायी पनि त्यसरी नै पक्राउ परेको उनले सम्झाए ।
उनीहरू अहिले प्रहरी हिरासतमा छन् । हिरासतमा राख्नका लागि पनि विभागले नै पत्र पठाएको थियो । उनीहरूको मुद्दामा प्रहरीले यसबाहेक कुनै पनि भूमिका नखेलेको जवाफ डा। केसीले दिए । आईजीले दिएको यही जवाफमा गृहमन्त्री सन्तुष्ट नहुँदा एआईजीलाई बोलाइएको थियोे । गृहमन्त्रीले अनुसन्धानका लागि केही व्यक्तिलाई पक्रिन के गर्नुपर्छ भनि सुरक्षा प्रमुखसहितका अधिकारीलाई सोधेका थिए ।
सम्पत्ति शुद्धीकरणले नभनि कोही पनि पक्राउ गर्न नमिल्ने उनीहरूले जवाफ दिएका छन् । उक्त विभाग अर्थ मन्त्रालयको मातहतमा हुन्छ । यदि कोही व्यक्ति पक्राउ गर्नुपर्ने भए मन्त्रीकै तहबाट उक्त विभागमा समन्वय गर्न उनीहरूले गृहमन्त्रीलाई सुझाव दिएका थिए । मिडियामा आएका समाचारका कारण उत्पन्न तनावप्रति गृहमन्त्रीले रातिको भेटघाटमा पटक–पटक कुरा उठाए । उनले प्रश्न थियोे, ‘मेरो बारेमा मात्रै किन समाचार आउँछ रु’ पत्रकार र मिडिया संस्थाकै पनि आर्थिक चलखेलबारे किन कुरा उठेन भन्दै उनले तिनीहरूमाथि छानविन हुन सक्छ कि सक्दैन भनि सोधेका थिए ।
यसअघि विभिन्न घटना र सन्दर्भमा प्रहरीले पक्राउ गरेका मानिस हाजिर जमानीमा छुट्नुको कारण पनि उनले सोधे । मुद्दा परिपक्व नभई मानिस पक्राउ गरिएका कारण त्यस्तो हुने उनीहरूको जवाफ थियोे । मन्त्री गुरुङले सिआईबीले अनुसन्धान गरिरहेका मुद्दाहरूको विवरण मागेका थिए । तर, सिआईबी प्रमुखले अनुसन्धान प्रभावित हुने कारण त्यस्तो विवरण अनुसन्धान गर्ने प्रहरीबाहेक अरुलाई दिन वा भन्न नमिल्ने जवाफ दिए ।