विपद् अघिको पूर्वतयारी गर्न सुकुमबासीको विवरण मागिएको हो – सेना

68

काठमाडौँ । नेपाली सेनाले विपद् अघिको पूर्वतयारीका लागि जोखिमयुक्त क्षेत्रका बासिन्दाको विवरण संकलन गरिएको स्पष्ट गरेको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा २०८३ वैशाख १६ गते जारी विज्ञप्तिमा विगतका वर्षहरूमा भएका विपद्का घटनालाई आधार मान्दै वर्षायाम नजिकिँदै गएको सन्दर्भमा बाढी, पहिरो, डुबान तथा नदी कटानबाट हुन सक्ने जोखिमलाई दृष्टिगत गरी यस्तो विवरण अद्यावधिक गर्ने कार्य भइरहेको जनाइएको छ ।

विज्ञप्तिअनुसार सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गर्दै मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले विपद् प्रतिकार्य पूर्वतयारीका योजना अघि बढाइएको छ । सम्भावित जोखिम क्षेत्रहरूमा प्रभावकारी रूपमा परिचालन हुन स्थानीय युनिटहरूलाई तयारी अवस्थामा राखिएको पनि सेनाले जनाएको छ ।

सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा प्रकाशित सूचनाहरूको सन्दर्भमा सेनाले आफ्नो जिम्मेवारी क्षेत्रभित्र पर्ने सम्भावित विपद्का घटनामा आवश्यक तयारी कायम राखिएको स्पष्ट पारेको छ ।

समाचार वर्गहरू