आज १३७औँ श्रमिक दिवस मनाइँदै

69

काठमाडौं । आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउने गरिन्छ ।

त्यसअघि सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित मजदुर आन्दोलन भएको थियो । त्यही दिनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिएको हो ।

विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

नेपालमा समेत मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् ।

नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालियो ।

समाचार वर्गहरू