सरकारले आफ्नो नागरिकसँग युद्ध अपराधी जस्तो व्यवहार गर्न मिल्दैन – गगन थापा

70

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनताले दिएको म्यान्डेटअनुसार ठीक ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्न सरकारलाई सुझाव दिएका छन्।

शुक्रबार काठमाडौँमा नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् उद्घाटन गर्दै सभापति थापाले सरकारको कामकारबाहीले देशलाई ठीक ढंगले अघि बढाउने नदेखिएको भन्दै म्यान्डेटअनुसार ठीक ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्न सरकारलाई सुझाव दिएका हुन्।

उनले आफूहरु केही समय मौन रहेर मौनताको बीचमा सत्यको खोजी गर्ने प्रयासमा रहे पनि अब भने मौन व्रत तोड्नुपर्ने अवस्था आएको बताए।

सभापति थापाले नदीको किनारामा बस्दै आएका नागरिकलाई हटाउने र उनीहरुलाई उचित व्यवस्थापन गर्ने अधिकार र जिम्मा कानूनले दिएको उल्लेख गरे। कानुनको शासनको परिधिभित्र रहेर सरकारले सोच्दै गर्दा आफ्नो नागरिकसँग युद्ध अपराधी जस्तो व्यवहार गर्न नमिल्ने उनको भनाइ छ।

उनले सरकार कानुनको बलमा मात्रै अघि बढ्न खोजेको धरै उदाहरण देखिएकाले यसले कसैलाई पनि ठीक ठाँउमा लिएर नजाने बताए।

सभापति थापाले भाद्र २४ गतेको घटनाको छानविनका लागि सरकारले न्यायीक छानविन आयोग बनाउने प्रतिवद्धता जनाए पनि त्यसबाट पछि हटेको बताए।

सभापति थापाले श्रमिकहरुलाई एकताबद्ध हुन पाउने अधिकार संविधानले नै दिएको भन्दै कसैले चाहेर श्रमिकको अधिकार खोस्न नसक्ने स्पष्ट पारे।

समाचार वर्गहरू