सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, आज औपचारिक घोषणा

62

काठमाडौं । पूर्वमाओवादी नेता सुदन किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।

आज अपराह्न तीन बजे काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यसको औपचारिक घोषणा गरिँदैछ ।

यसलाई किराती पक्षले ‘पार्टी एकता’ भनेको छ । किरातीको सचिवालयका एक सदस्यले श्रम संस्कृति पार्टीसँग पार्टी एकताको सैद्धान्तिक सहमति भएको र त्यसको जानकारी आज पत्रकार सम्मेलनमार्फत् दिइने बताए ।

उनका अनुसार किरातीले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका छन् । साथै श्रम संस्कृति पार्टीमा एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यहरु पनि पाउने सहमति भएको किराती पक्षका एक नेताले जानकारी दिए ।

पुर्व पर्यटन मन्त्री समेत रहेका भोजपुरका सुदन किराती पूर्वमाओवादी नेता हुन् । जेनजी आन्दोलनपछि प्रचण्ड, माधव नेपाल सहितका नेताहरुले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि त्यसमा असहमत हुँदै उनी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा लागेका थिए ।

माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्माको पहलमा खोलिएको प्रलोपामा सुदन किराती पाँच सदस्यीय अध्यक्ष परिषदको सदस्य थिए । फागुन २१ को निर्वाचनमा एक सिट पनि जित्न नसकेपछि पार्टी अहिले कमजोर अवस्थामा पुगेको छ ।

रास्वपा छाडेर प्रलोपा रोजेका अध्यक्ष परिषदका अर्का सदस्य समेत रहेका सन्तोष परियार पनि पार्टीबाट अलग भइसकेका छन् ।

समाचार वर्गहरू