संसदमा प्रधानमन्त्री बालेन्द्र साहको मागियो राजीनामा

61

काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को राजीनामा माग गरिएको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेनको राजीनामा माग गरेका हुन् ।

आजको छलफलमा प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्न सभामुख डीपी अर्यालले अनुमति दिएका थिए । योसँगै संसदका सबै विपक्षी दलहरू उठेर विरोध गरेका हुन् ।

बैठकमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिनुपर्ने माग गर्दै विपक्षीहरुले संसद अवरोध गरेपछि सत्तापक्षिय सांसदहरुले प्रतिरक्षा गरेका छन् । सत्तापक्षले भने प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रमको छलफलमा भाग लिनुपर्ने कानूनी वाध्यता नरहेको बताएको छ ।

सत्तारुढ दल रास्वपाका तर्फबाट प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रतिनिधिसभा नियमावलीको धारा ३८ को उपधारा ३ अनुसार प्रधानमन्त्री उपस्थित हुन नसकेको अवस्थामा मन्त्रीलाई तोक्न सक्ने जिकिर गरे । उनले भने, ‘आज प्रधानमन्त्रीले अर्थमन्त्रीलाई आफ्नो तर्फबाट प्रतिनिधि तोक्नुभएको जानकारी मलाई आएको छ । त्यसैले सदनको कारवाही त्यसैअनुसार सुचारु गरौं ।’

समाचार वर्गहरू