संस्थापक सेयर बिक्रीमा गोल्यान ग्रुपको बदमासी

9

काठमाडौं । गोल्याण ग्रुप अन्तरगतको सिटी होटेल लिमिटेडले कानुन र सेयर प्रणालीको दुरुपयोग गरी लकइनमा रहेको संस्थापक सेयर अक्सनमार्फत उच्च मूल्यमा बिक्री गरेर सर्वसाधारणलाई ठगी गरेको खुलेको छ ।

राजधानी दैनिकमा ‘गैरकानुनी सेयर खरिद बिक्रीमा गोल्यान ग्रुप, गम्भीर आर्थिक अनियमितता देखिएपछि सिआइबीको एक्सन’ शीर्षकमा समाचार प्रकाशन भएपछि यो समूहले प्रेस काउन्सिलसमेतलाई बोधार्थ दिएर समाचारको खण्डनसहित माफी माग्न पत्राचार गरेको थियो ।

तर सिटी होटेलको सेयर विवादमा सरकारी निकायले नेपाल प्रहरीलाई बुझाएको विवरणमा भने कानुन र प्रणालीकै दुरुपयोग गरेर सर्वसाधारणलाई ठगी गरिएको उल्लेख गरेको पाइएको छ ।

सिटी होटेल लिमिटेडको स्वामित्वमा काठमाडौंको सोल्टीमोडमा पाँचतारे होटेल हायात सेन्ट्रिक सञ्चालनमा छ । गोल्यान ग्रुपका शक्ति कुमार गोल्यान, अक्षय गोल्यान, सुरभी गोल्यान र कमलेश कुमार अग्रवाल संचालक रहेको सिटी होटेल लिमिटेडको शेयर निष्कासन र बिक्रीमा सरकारी निकायले गम्भीर लापरबाही देखाइदिएको हो ।

सरकारी स्वामित्वको सिडिएस एन्ड क्लियरिङ लिमिटेडले ३ वैशाख २०८३ मा नेपाल प्रहरीको आर्थिक तथा वित्तीय अनुसन्धान महाशाखालाई लेखेको पत्रमा विभिन्न ४ प्रकरण उल्लेख गरेर सिटी होटेलले संस्थापक सेयर बेचविखनमा बदमासी गरेको उल्लेख छ ।

राजधानी दैनिकमा समाचार प्रकाशन भएपछि २३ वैशाखमा सिटी होटेल लिमिटेडका तर्फबाट कम्पनी सचिव सुन्दर बहादुर सेनीले सेयरबारे प्रकाशित समाचार गलत भन्दै माफी माग्न र खण्डन गर्न पत्राचार गरेका थिए ।

उनको पत्र लगत्तै राजधानी दैनिकले सेनको मोबाइल, ह्वाट्सएप, कम्पनीको इमेल लगायतका सबै माध्यममा सिडिएसले प्रहरीलाई पठाएको चलानी नम्बर ९१७ मा उठाइएका गम्भीर विषय’bout जिज्ञासा राखेको थियो । तर १० दिन बितिसक्दा पनि कम्पनीले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

सिडिएसले सिटी होटेले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ (१), कम्पनी ऐन २०६३ को दफा ६६ लगायतका कानुनी व्यवस्था विपरीत सेयर बिक्री गरेको निष्कर्ष प्रहरीलाई पठाएको छ ।

सिडिएसले सिटी होटेले सर्वसाधारण लगानीकर्तालाई झुक्यानमा पारी टिएमएसको मूल्यको प्रभावमा २५१ रुपैयाँदेखि ४६९ रुपैयाँसम्म अक्सन मूल्यमा संस्थापक सेयर सर्वसाधारण लगानीकर्ताबाट खरिद गर्ने अवस्था सिर्जना गरेको भनेको छ । ‘यदि एउटै आइजिनमा नराखेको भए संस्थापकले लिएका सेयर लकइन अवधिभर नन ट्रेडेबल सेयर हुन्छ र यस्तो सेयरको मूल्य मेरो सेयरमा रु १०० मात्र देखिने हुनाले ननट्रेडेबल सेयर अक्सनमा जाँदा नेटवर्थ अथवा पार भ्यालु रु.१०० वा केही बढीमा कारोबार हुने अवस्था रहन्छ,’ प्रहरीलाई पठाइएको विवरणमा उल्लेख छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ (१) अनुसार विवरण पत्र प्रकाशन गरी निष्कासन गरिएको धितोपत्र बाहेक अन्य समूहको धितोपत्र आइपिओ बाँडफाँड मितिले ३ वर्षको अवधि पूरा नभई बिक्री गर्न नपाइने प्रावधान अन्तर्गत सिटी होटेलको संस्थापकको सेयर पनि लकइनमा राखिएको थियो ।

‘लकइनमा भएको सेयर खरिद बिक्री गर्न नहुने हस्तान्तरण गर्न नहुने वा लेनदेन गर्न नहुने साथै संस्थापक वा अन्य समूहले लिएको धितोपत्र लकइनमा रहने र सो अन्तर्गत बोनस वा हकप्रद सेयर समेत पर्ने भनी सोही नियमावलीको नियम ३८ (१) को स्पष्टीकरणमा उल्लेख रहेको अवस्था छ । अतः निज कम्पनीले अक्सन मार्फत संस्थापकको लकइनमा रहेको हकप्रद सेयर बिक्री गरेको स्पष्ट देखिन्छ,’ सिडिएसको पत्रमा उल्लेख छ ।

पत्रमा यस्तो अवस्थामा सिटी होटेलको सञ्चालक समितिले अक्सन गरेर उच्च मूल्यमा सेयर बिक्री गर्नु उपयुक्त कानुन तथा प्रणालीको दुरुपयोग गरी सर्वसाधारण जनतालाई ठगी गरेको भनेको छ ।

सिडिएसले सिटी होटेले सर्वसाधारणको सेयरसँग संस्थापकको सेयर मिसाएर राख्नु पर्दा निजको प्रबन्ध पत्र नियमावलीमा सच्याएर विधिपूर्वक संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा कन्भर्जन गरेर मिसाउनुपर्नेमा संस्थापक सेयर एउटै आइजिनमा लकइनमा रहेको र लकइन रहेको हक हस्तान्तरण गर्न नमिल्ने कानुनी अवस्थामा अक्सनमार्फत संस्थापकको हकप्रद सेयर बिक्री गरिएको तथ्य प्रहरीलाई पठाएको छ ।

‘संस्थापकको सेयरलाई सुरुमा नै एउटै आइजिनमा सर्वसाधारणको सेयरसँग मिसाएर राखेको, सर्वसाधारणको सेयरको मूल्य (तत्कालीन अवधिमा करिब रु. ५३३ प्रति शेयर) सरह संस्थापक सेयरको मूल्य प्रणालीमा देखाई सर्वसाधारण जनतालाई सस्तोमा खरिद गरेको भान पारेर (वास्तवमा संस्थापक सेयरको हुनुपर्ने मूल्य भन्दा बजारको मूल्य भन्दा कम हुन्छ) उच्च मूल्य रु. २५१ देखि रु.४६९ सम्म बिक्री गरेर सर्वसाधारण जनतालाई मार्कामा पारेको देखिन्छ,’ सिडिएसको पत्रमा उल्लेख छ । राजधानी दैनिक

समाचार वर्गहरू