नेपाली कांग्रेस विभाजनको संघारमा : काठमाडौंमा सम्पर्क कार्यालयको खोजी

3

काठमाडौं । विशेष महाधिवेशनको प्रक्रियावाट सुरू भएको नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष झन् चर्किँदै गएको छ । शेरबहादुर देउवा– शेखर कोइराला पक्षले सभापति गगनकुमार थापाबाट ठोस प्रस्ताव नआएको भन्दै समानान्तर गतिविधि तीव्र बनाएको बुझिएको छ । सभापति गगन थापाले सबै पक्षलाई समेट्ने प्रतिबद्धता जनाएको भएपनि देउवा र कोईराला पक्षभने समानान्तर गतिविधिमा सकृय भएर लागेका छन् । तर, असन्तुष्ट पक्ष यसलाई विश्वास गरिरहेको छैन । बरू सभापति थापाले गलाउने रणनीति लिएको असन्तुष्ट पक्षका नेताहरू बताउँछन्।

उसो त देउवा पक्ष पनि समानान्तर गतिविधि बढाइरहेको छ, साथै काठमाडौंमा सम्पर्क कार्यालयको समेत खोजी गरिरहेको बताउँदै संस्थापनमाथि दबाब बढाइरहेको छ। दुबै पक्ष एकअर्कालाई गलाउने रणनीतिमा अगाडि बढ्दा पार्टीको एकता नै संकटमा परेको छ । कांग्रेसका सभापति थापाले १४ औँ महाधिवेशनबाट निर्वाचित सबैलाई समेटेर अघि बढ्न आफू तयार रहेको बताउदै आएका छन् ।

काठमाडौंमा आइतबार एक कार्यक्रममा सभापति थापाले वरिष्ठ नेताको आवश्यकता भए वरिष्ठ नेता, अन्यलाई उचित जिम्मेवारी दिन र महाधिवेशनसम्बन्धी समितिहरूमा निष्पक्ष प्रतिनिधित्व सुनिश्चित गर्न आफू लचक रहने दाबी गरेपनि त्यसलाई देउवा समुहले मान्न तयार भएको देखिदैन । पूर्वउपसभापति पूर्णबहादुर खड्काले शनिबार सुर्खेतको कार्यक्रममा पार्टी विभाजनको जोखिममा पुगेको र गगन थापा समग्र कांग्रेसको नेतृत्व गर्न असफल भएको आरोप लगाएका थिए ।

कर्णाली प्रदेशस्तरीय भेला नाम दिइएको कार्यक्रममा खड्काले राखेको भनाइकै जवाफस्वरुप सभापति थापाको आइतबारको अभिव्यक्ति आएको हो। कांग्रेसभित्र १४ औँ महाधिवेशनबाट बनेको केन्द्रीय समितिको ठूलो हिस्सा अझै बाहिरै छ। विशेष महाधिवेशनलाई अस्वीकार गर्ने देउवा र शेखर कोइराला समूहले पनि अलगअलग गतिविधि गर्दै आएका छन्। यसैले देखाउँछ, अहिले कांग्रेस औपचारिक रूपमा एकीकृत पनि छैन, पूर्ण रूपमा विभाजित पनि होइन।

एकातिर समानान्तर गतिविधि चलिरहँदा अर्कोतर्फ सहमतिको प्रयास पनि जारी छ, तर त्यस्तो प्रयासमा ठोस प्रगति छैन। देउवा पक्षले सभापति थापाले एकताको स्पष्ट प्रस्ताव नल्याएको आरोप लगाइरहेको छ। संस्थापन पक्षले १४ औँ र विशेष महाधिवेशनबाट बनेका केन्द्रीय समितिहरूलाई मर्ज गरेर साझा संयन्त्र बनाउने विकल्प अघि सारेको छ। साथै क्रियाशील सदस्यताको विषयमा पनि पुरानो संरचना यथावत् राख्नुपर्ने पक्षमा उनीहरू देखिएका छन्। विशेष महाधिवेशनबाट बनेको समितिले १५ औँ महाधिवेशन निष्पक्ष गराउनेमा उनीहरुको आशंका छ।

सभापति थापाले विवाद समाधानका लागि पूर्णबहादुर खड्का र शेखर कोइरालासँग छलफल त गरिसकेका छन् । तर, सहमतिका लागि ठोस प्रस्ताव नआएको भन्दै असन्तुष्ट समूह समानान्तर गतिविधि गरिरहेका छन्। पूर्णबहादुर खड्का नेतृत्वमा देउवा पक्षले प्रदेशगत भेला गरेको छ, जसलाई १५ औँ महाधिवेशनको तयारी नै भनिएको छ। यस्ता अरू कार्यक्रम पनि भइरहेका छन्। काठमाडौंमा सम्पर्क कार्यालय खोल्ने तयारीसमेत भइरहेको भन्दै यो पक्षले दबाब बढाइरहेको छ।

संस्थापन पक्ष भने पुरानो केन्द्रीय समिति र नयाँ केन्द्रीय समिति मिसाउन तयार छैन। बरू असन्तुष्ट केही नेतालाई केन्द्रीय समितिमा मनोनयन गरेर समेट्ने प्रयास भइरहेको दाबी गर्छ। समग्रमा कांग्रेसभित्रको विवाद समाधानउन्मुख छैन। बरू झन् गहिरिँदै गएको देखिन्छ। समाधान ननिक्लिए पार्टीभित्रको आन्तरिक संघर्ष अझै चर्किन सक्ने संकेत नेताहरूले नै दिएका छन् भन्दै कान्तिपुर टिभीमा प्रकाश बमले समाचार लेखेका छन् ।

समाचार वर्गहरू