कहाँ हराए ६ लाख विद्यार्थी ?

51

काठमाडौँ — २०७३ मा कक्षा १ मा भर्ना भएका बालबालिका गत चैतमा सञ्चालित कक्षा १० को एसईईमा सहभागी भए । त्यतिबेला कक्षा १ मा १० लाख ५३ हजार ८ सय २४ जना भर्ना भएका थिए । तर एसईईमा सहभागी हुने विद्यार्थीको संख्या ४ लाख ३० हजार ६ सय ६७ जनामै सीमित देखियो । यस तथ्यांकले विद्यालय भर्ना भएका ६ लाख २३ हजार १ सय ५७ बालबालिकाले बीचैमा कक्षा छाडेको वा अनुत्तीर्ण भएर कक्षा दोहोर्‍याएको देखाएको छ ।

कक्षा १ मा भर्ना भएकामध्ये ४०.८६ प्रतिशतले मात्र कक्षा १० सम्मको पढाइ पूरा गरे । एसईई परीक्षामा सहभागीमध्ये पनि १ लाख ४६ हजार ५ सय विद्यार्थी अनुत्तीर्ण हुँदै कक्षा ११ भर्ना हुन अयोग्य भए । उनीहरूका लागि असार १ देखि पूरक परीक्षा सञ्चालन हुँदै छ । कक्षा ८ सम्म अनिवार्य शिक्षाको व्यवस्था गरिएको छ । तर शिक्षा मन्त्रालयको तथ्यांकले कक्षा १ मा भर्ना भएकामध्ये ५९ प्रतिशत विद्यार्थीले कक्षा ८ पूरा नगरेको देखाउँछ ।

२०७३ मा कक्षा १ मा भर्ना भएकामध्ये २०८० मा ६ लाख २१ हजार ८ सय ४८ विद्यार्थी मात्र कक्षा ८ मा भर्ना भएको शिक्षा तथा मानवस्रोत केन्द्रको रिपोर्टले देखाउँछ । केन्द्र महानिर्देशक अणप्रसाद न्यौपाने अनुत्तीर्ण भएर कक्षा दोहोर्‍याउने र बीचैमा कक्षा छाड्ने प्रवृत्तिले कक्षा १ मा भर्ना भएका सबै विद्यार्थी कक्षा १० सम्म पुग्न नसकेको बताउँछन् । ‘बीचैमा कक्षा छाड्नेभन्दा कक्षा दोहोर्‍याउने बालबालिकाको संख्या धेरै छ,’ उनले भने, ‘बीचैमा कक्षा छाडे पनि पुनः अर्को वर्ष भर्ना हुन आउने विद्यार्थीको संख्या पनि ठूलो छ ।’

२०७३ मा ५ लाख ३० हजार १ सय ७६ छात्रा र ५ लाख २३ हजार ६ सय ४८ छात्र गरी १० लाख ५३ हजार कक्षा १ मा भर्ना भएका थिए । फ्ल्यास रिपोर्टअनुसार त्यतिबेलै शैक्षिक सत्रको अन्त्यसम्म कक्षामा रहेका विद्यार्थीको संख्या ९ लाख २७ हजार ९ सय ९३ जना थियो । अर्थात् १ लाख २५ हजार ८ सय ३१ जना विद्यार्थीले कक्षा १ पूरा नगरी विद्यालय छाडेका थिए । तीमध्ये कतिपय विद्यार्थी २०७४ मा पुनः भर्ना भएको केन्द्रले जनाएको छ ।

२०७३ मा १० लाख ५३ हजार ८ सय २४ बालबालिका कक्षा १ मा भर्ना भएका थिए तर दस वर्षपछि २०८२ को एसईई दिने बेलासम्म उक्त विद्यार्थी संख्या घटेर ४ लाख ३० हजार ६ सय ६७ जनामा सीमित हुन पुग्यो।विद्यार्थीले विद्यालय छाड्नुको कारणहरू विद्यालयको तहअनुसार विद्यार्थीपिच्छे फरक–फरक रहेको अनुसन्धानमा संलग्न शिक्षाविद् संवेदन कोइराला बताउँछन् । उनका अनुसार आर्थिक, सामाजिक, व्यक्तिगत कारणले बालबालिकाले बीचैमा पढाइ छाड्ने गरेका छन् । उनले बीचैमा कक्षा छोडेका ७७ जिल्लाका २७ हजार विद्यार्थीमाथि अध्ययन गरेका थिए ।

अध्ययनमा आधारभूत र माध्यमिक तहमा कक्षा छाड्नुको कारण भिन्नभिन्न पाइएको उनले जनाए । कक्षा १–५ मा आर्थिक कारणले धेरैले विद्यालय छाड्छन् । अभिभावकमा रहेको आर्थिक विपन्नता मुख्य देखिएको छ । कतिपयले घरभन्दा विद्यालय टाढा भएर पनि छाडेका छन् । कक्षा ६–८ मा व्यक्तिगत कारणले विद्यालय छोड्नेको संख्या धेरै देखिन्छ । ‘फेल हुने, विद्यालय जान मन नलाग्ने, शिक्षकको व्यवहार, भाषागत समस्या, पढाइ/सिकाइ र बुझाइमा कमी यो तहका विद्यार्थीमा देखिने गरेको छ,’ कोइरालाले भने, ‘९–१२ मा सामाजिक कारण विद्यालय छाड्नेको संख्या उच्च छ । माध्यमिक तहमा पुगेपछि विवाह गरेर पारिवारिक बन्धनमा बाँधिने, वैदेशिक रोजगारी जाने प्रवृत्ति धेरै देखिएको छ ।’

संघीय प्रदेश र स्थानीय सरकारले दशकौंदेखि भर्ना अभियान र बालबालिकालाई कक्षाकोठामा टिकाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । राज्यले विद्यालय शिक्षामा अर्बौं लगानी गर्दै आएको छ । तर सरकारको विद्यार्थी भर्ना अभियान, कक्षाकोठामा विद्यार्थी टिकाउ कार्यक्रम, विद्यार्थीको सिकाइ उपलब्धि र परीक्षाको नतिजामा प्रश्न र गुनासा कायमै छ । कान्तिपुर

समाचार वर्गहरू