विद्यार्थी अभावले बन्द हुँदै सामुदायिक विद्यालय, थपिँदै निजी

61

काठमाडौं – विद्यार्थी अभावमा देशभरका आठ हजार सामुदायिक विद्यालय मर्ज गर्ने (गाभ्ने) तयारीमा सरकार लागिरहँदा निजी विद्यालयको संख्या भने बढ्दो दरमा छ । आपसमा गाभ्ने तयारीस्वरूप सरकारले ५० भन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयको सूची माग्दा आठ हजारको सूची शिक्षा मन्त्रालयमा पुगेको छ । तर, निजी विद्यालय भने गत शैक्षिक सत्र ०८२ मा मात्रै १०४ वटा थपिएका हुन् ।

सरकारले गत बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार शैक्षिक सत्र ०८२ सम्म निजी विद्यालयको संख्या आठ हजार ९३१ पुगेको छ । देशभर सरकारी विद्यालय भने २७ हजार २० छन् । सामुदायिक र निजी गरी देशभर ३५ हजार ९५१ विद्यालय छन् ।

यी विद्यालयमा ७० लाख बालबालिका अध्ययनरत रहेको शिक्षा मन्त्रालयको तथ्यांक छ । जसमध्ये सामुदायिकमा ७१.२७ प्रतिशत, निजी विद्यालयमा २४.८७ प्रतिशत र परम्परागत तथा धार्मिक विद्यालयमा ३.८६ प्रतिशत विद्यार्थी छन् । शैक्षिक सत्र ०८१ मा यो दर क्रमशः ७३.० प्रतिशत, २३.० प्रतिशत र ४.० प्रतिशत थियो । दुई वर्षको अन्तर हेर्दा सामुदायिकमा विद्यार्थी घटेको र निजीमा बढेको स्पष्ट देखिन्छ ।

आर्थिक सर्वेक्षणअनुसार ६० प्रतिशत सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी छन् । त्यस्तै, २९३ सामुदायिक विद्यालयमा त पाँचभन्दा कम विद्यार्थी रहेको शिक्षा मन्त्रालयकै तथ्यांक छ । यसले सामुदायिक विद्यालयको अवस्था निकै नाजुक देखाउँछ ।

आर्थिक सर्वेक्षणले बालविकास कक्षामा भर्ना भएका स्कुले बालबालिकामध्ये बालकको संख्या बढी देखाएको छ । प्रारम्भिक बालविकास केन्द्र तथा पूर्वप्राथमिक कक्षामा छात्र र छात्राको अनुपात क्रमशः ५५.१ प्रतिशत र ४४.९ प्रतिशत देखिएको हो ।

त्यस्तै, पछिल्लो समय विद्यार्थी भर्नादरमा वृद्धि भएको छ । सर्वेक्षणअनुसार ०८२ मा आधारभूत तह (कक्षा १–८) को कुल भर्नादर १३६.२ प्रतिशत पुगेको छ । अघिल्लो शैक्षिक सत्र ०८१ मा यस्तो भर्नादर १२४.८ प्रतिशत थियो । त्यस्तै, माध्यमिक तह (कक्षा ९–१२) को कुल भर्नादर पनि वृद्धि भएको छ । शैक्षिक सत्र ०८२ मा यो दर ८५.७ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । गत वर्ष यस्तो भर्नादर ८०.६ प्रतिशत थियो । तथ्यांकअनुसार आधारभूत तह (कक्षा १–५) मा ०८२ मा कुल भर्नादर १३३.८ प्रतिशत पुगेको छ । यसमध्ये छात्राको भर्नादर १३३.१ प्रतिशत र छात्रको १३४.५ प्रतिशत छ । आधारभूत तह (कक्षा ६–८) मा कुल भर्नादर १०८.९ प्रतिशत छ । छात्राको भर्नादर १०९.६ प्रतिशत तथा छात्रको १०८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

माध्यमिक तह (कक्षा ९–१०) मा कुल भर्नादर १०६.८ प्रतिशत पुगेको छ । यसमध्ये छात्राको भर्नादर ११२.९ प्रतिशत र छात्रको १०१ प्रतिशत छ । कक्षा ११–१२ मा भने कुल भर्नादर ७४.३ प्रतिशत रहेकोमा छात्राको ७०.६ प्रतिशत र छात्रको ७७.९ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।

रित्तिँदै पहाडी क्षेत्रका सामुदायिक विद्यालय

  • धादिङ सिद्धलेकका दुई आधारभूत विद्यालय खड्कदेवी र बाघभैरुङमा पाँच–पाँच विद्यार्थी
  • काभ्रेको नमोबुद्ध– ५, कानपुरस्थित महांकाल आधारभूत विद्यालयमा विद्यार्थी भर्ना हुनै आएनन्
  • बसाइँसराइले उदयपुरको आम्बोटे विद्यालयमा सात मात्र विद्यार्थी
  • सिन्धुपाल्चोक लिसंखुपाखर– १, डाँसेको सरस्वती आधारभूत विद्यालयमा ६ मात्रै बालबालिका
  • कैलालीको मोहन्याल– ३, मुलेकाँडास्थित देउधरी आधारभूत विद्यालयमा नौ विद्यार्थी

निजी विद्यालय भटाभट थपिँदै गर्दा सरकारी विद्यालय भने धमाधम बन्द हुने अवस्थामा छन् । ५० भन्दा कम विद्यार्थी भएका विद्यालयको सूची संकलन गरेर एक–आपसमा गाभ्ने प्रक्रियामा सरकार छ । कतिपय विद्यालयमा एउटै विद्यार्थी छैनन् भने कैयौँमा निकै कम मात्र छन् । विद्यार्थी नै रित्तिएका विद्यालयका शिक्षकलाई सम्बन्धित स्थानीय तहले सकेसम्म अन्य विद्यालयमा पठाएर व्यवस्थापन गरिरहेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकअनुसार पाँचभन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालय नै २९३ वटा छन् । पहाडी क्षेत्रबाट तीव्र बसाइँसराइ र सरकारी शिक्षाको खस्किँदो गुणस्तरका कारण सामुदायिक विद्यालय रित्तिने क्रम उत्तिकै तीव्र बनेको हो । नयाँपत्रिका

समाचार वर्गहरू