‘नेपालले भारतको जग्गा कहाँकहाँ मिचियो प्रधानमन्त्री बालेन्द्र साह ज्यूः कांग्रेस प्रमुख सचेतक निस्कल राई

8

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निस्कल राईले प्रधानमन्त्री बालेन्द्र साह उर्फ बालेनसँग नेपालले भारतको जग्गा मिचिएको विषयमा हिसाब दिन माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलका तर्फबाट बोल्दै प्रमुख सचेतक राईले सो माग गरेका हुन । ‘आज मेरो शिर निहुरेको महसुस भएको छ ।

सदनको रोस्ट्रममा उभिएर सम्माननीय प्रधानमनत्री ज्युले छाती चौडा बनाउँदै बोलेको विषयले मेरो मात्र होइन, करिब तीन करोड नेपालीको शिर निहुर्‍याएको छ,’ उनले भने, ‘रोस्ट्रममा उभिएर प्रधानमन्त्री ज्युले भन्नुभयो–नेपालले पनि भारतको जग्गा मिचेको छ ।

यो संसद्मा रेकर्ड भएको छ, त्यो अभिव्यक्ति नजिर बनेर स्थापित भएको छ ।’ जसमा गर्वका साथ सत्ता पक्षका सांसदले ताली पड्काएको पनि उनले बताए । ‘उहाँहरूलाई पनि मेरो प्रश्न छ–अलिकती आत्मग्लानी यहाँहरूलाई पनि हुनुपर्छ । सार्वभौम संसद्मा उभिएर उहाँले दिएको अभिव्यक्तिको हाम्रो नोट अफ डिसेन्ट छ,’ उनले भने ।

अब संसद्को रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले त्यसको जवाफ दिनुपर्ने राईले माग गरे । ‘हाम्रो माग पनि छ । फेरि उहाँ सार्वभौम सत्तासम्पन्न संसद्को रोस्ट्रममा उभिनुपर्छ, नेपालले कहाँकहाँ भारतको जग्गा मिच्यो, एकएक इन्चको हिसाब हामीलाई दिनुपर्छ ।

हामीलाई हिसाब चाहिन्छ, यो राष्ट्रिय स्वाभिमानको विषय हो, राष्ट्रिय सुरक्षाको विषय हो,’ उनले भने । ‘भोलि भारतले हाम्रो जग्गा फिर्ता चाहिन्छ भन्यो भने हामीले कुन जग्गा दिने ?’ भनी उनले प्रश्न गरे । ‘प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउमा परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित छ भनेको छ ।

जमिन मिचेको विषय कसरी क्रस बोर्डर अकुपेसन हुन्छ रु परराष्ट्र मन्त्रीलाई त्यत्ति सामान्य ज्ञान त हुनुपर्ने हा,’ राईले भने । यसमा विपक्षको प्रस्ट बुझाइ रहेको उनले बताए । उनले अगाडि भने, ‘रोस्ट्रममा प्रधानमन्त्री ज्युले दिएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रहीत विपरीत छ । यसले भारतसँग हामीले भन्दैआएको दाबीलाई पनि कमजोर बनाउँछ ।नेपाल पनि सीमा अतिक्रमणकारी हो भन्ने स्थापित हुन्छ ।’

यसैबीच, नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री साहले अभिव्यक्ति सच्याएर माफी माग्न गरेका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले संविधानविरुद्ध नजान चेतावनी पनि दिए । ‘यो सदन, यो व्यवस्था, यो संविधान हाम्रा अग्रज र नेपालीले ठूलो योगदान दिएर, रगत बगाएर ल्याएको हो ।

तर प्रधानमन्त्रीले राष्ट्रघाती देशद्रोही अभिव्यक्ति दिनु भयो । यसको रेकर्ड हटाउँदै माफी माग्न माग गर्दछु,’ उनले भने, ‘लिपुलेक, लिम्पियाधुरा कालापानी सुस्ता हाम्रो भूमि हो । नेपालले कतै एक इन्च भूमि मिचेको छैन । थाहा छैन भने पढे हुन्छ । अध्ययन गरे हुन्छ । नजाने हामीसँग सिक्न आए हुन्छ ।’

उनले प्रधानमन्त्रीले भारतको भूमि नेपालले पनि मिचेको छ भन्ने अभिव्यक्ति दिएर नेपालीको शीर झुकाउने काम गरेको पनि बताए । ‘आज सिंगो नेपाली शीर झुकाइरहेका छन् । भारतीय मिडियामा खुसीयाली मनाउने काम भयो ।

प्रधानमन्त्रीबाट विदेशीलाई खुसी बनाउने काम भयो,’ उनले भने, ‘आज रास्वपाको सभापति भारत जानुअघि चाकडी गरिएको हो ? ‘उनले प्रधानमन्त्री बालेन शाहको पोषाकप्रति पनि आपत्ति जनाए ।

‘संसद्को गरिमा कायम गरिनुपर्छ । यो कुनै फुटबल खेल्ने, फेसन शो गर्ने ठाउँ हैन । सेनाले आयोजना गरेको कार्यक्रम नेपाली पोषाकमा जानुहुन्छ,’ उनले भने, ‘ तर उहाँ सदनमा आउनुहुन्छ फुटबल खेल्ने ड्रेसमा । प्रधानमन्त्रीले माफी माग्नुपर्छ । देशवासीको नाममा । प्रधानमन्त्रीले माफी नमागेसम्म विरोध जारी रहने जानकारी गराउन चाहन्छु ।’

समाचार वर्गहरू