काठमाडौँ । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले प्रधानमन्त्री बालेन्द्र साहको मोबाईलमा ‘म्यासेज’ पठाएको आरोपमा बिहीबार अपराह्न कपन स्थित घरबाट पक्राउ गरि केरकार गरेर छोडिएको समाचार प्राप्त भएको छ । सचिब पुष्करलाई नियन्त्राणमा लिई ७ घण्टा लामो केरकार गरेर अब मोबाइल फोनको अनुचित प्रयोग नगर्ने शर्तमा विहिबार रातिनै छोडिएको बताइएको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कपनस्थित घरबाट पक्राउ गरेको थियो ।
प्रहरी स्रोतले दिएको जानकारी अनुसार कर्मचारीको पदीय मर्यादा विपरीत उच्च पदस्थ व्यक्तिलाई अमर्यादित भाषामा एसएमएस गरेका कारण सोधपुछका लागि प्रहरी कार्यालय लगिएको बताइएको छ । उनलाई पत्नी आभा श्रेष्ठको जिम्मा जमानीमा छोडिएको समेत अनुसन्धान कार्यालय स्रोतले जनाएको छ । पत्नी श्रेष्ठ पनि नेपाल सरकारकी सहसचिव हुन् ।
पुष्करले प्रधानमन्त्री बालेन्द्र शाहको समय माग्दा नपाएपछि उनको निजी नम्बरमा म्यासेज लेखेको बताइएको छ । लेखिएको भाषा कर्मचारीको मर्यादाविपरीत भएको दाबी प्रहरीको रहेको छ । उनले मुख्यसचिव बन्ने दौडका क्रममा प्रधानमन्त्रीलाई सीधै म्यासेज लेखेका थिए । पुष्कर असार २४ गते सचिव पदको पाँच वर्षे अवधि पूरा गरी अवकाश हुँदैछन् । उनी अवकाश हुनुभन्दा केही दिनपछि वर्तमान मुख्यसचिव सुमनराज अर्याल अवकाश हुन्छन् ।
प्रहरीलाई पुष्करले बताए अनुसार प्रधानमन्त्री कार्यालय र निजी सचिवालयका कर्मचारी प्रधानमन्त्रीसमक्ष आफ्नो मौका नदिएपछि म्यासेज गरेका थिए । तर, अशिष्ट भाषा नलेखेको बताइएको छ । उनलाई प्रधानमन्त्रीको सचिवालयकै आग्रहमा फेरि त्यस्तो कार्य नगर्ने शर्तमा रिहा गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले बताए ।
पुष्करको चाहना अर्यालको अवकाश अगावै आफ्नो मुख्य सचिव बढुवा भए उमेरका कारण सम्भव हुने थियो । त्यसो नभए सेवा अवधि सकिन लागेकाले संवैधानिक निकाय वा अन्य कुनै लाभको पदमा नियुक्ति हुने आकांक्षा राखेर म्यासेज पठाएको बताइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आदेशमा उनलाई सोधपुछको लागी नियन्त्रणमा लिइएको समेत गृह मन्त्रालयका एक उच्च अधिकृतले परिचय गोप्य राख्ने गरि बताएका छन् ।
सचिब पुष्करले ‘चेन अफ कमान्ड’ मिचेर व्यक्तिगत स्वार्थका लागी प्रधानमन्त्री साहलाई म्यासेज पठाएको आरोप लगाइएको छ । बिहीबार राति १० बजे उनी पत्नीको जिम्मामा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट छोडिएको बताइएको छ । सचिव कृष्णहरि पुष्करलाई टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट गएको टोलीले जरुरी पक्राउ पुर्जी थमाएको बताईएको छ ।