काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले भारतीय दूतावास नजिक शान्तिपूर्ण रूपमा पम्पलेट प्रदर्शन गर्न गएका आफ्ना ४ अभियानकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा दुर्व्यवहार तथा राजनीतिक दबाबको सामना गर्नुपरेको आरोप लगाएका छन ।
अभियानले प्रेस विज्ञप्ति जारी गरि लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको विषयमा संवैधानिक अभिव्यक्ति व्यक्त गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम सुरु हुनुअघि नै प्रहरीले बल प्रयोग गरी अभियानकर्मीहरू अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्तुल जेम्स नेपालीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
विज्ञप्तिका अनुसार नियन्त्रणमा लिइएका उनीहरूलाई काठमाडौँको प्रहरी वृत्त लैनचौर (सोह्रखुट्टे) मा राखिएको थियो। हिरासतमा राखिएको एक घण्टापछि सांसद एवं पूर्वगृहमन्त्री सुधन गुरुङ सहितको दलबल थुनुवा कक्षमा प्रवेश गरी उनीहरूमाथि मानसिक दबाब सिर्जना गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिने तथा राजनीतिक प्रभाव प्रयोग गर्ने प्रयास गरिएको विज्ञप्तिमा उल्लेख छ।
अभियानका अनुसार गुरुङले ‘तपाईँहरू कोबाट परिचालित हुनुहुन्छ ?’, ‘यो अन्तिम मौका हो’, ‘अब सरकार र प्रहरीले समाते भने छोड्दैनौँ’ र ‘सरकार विरुद्ध बोल्न बन्द गर्नुहोस्’ जस्ता अभिव्यक्ति दिएको आरोप लगाइएको छ ।
अभियानले यस्ता गतिविधि कानुनी शासन, नागरिक स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्य–मान्यता विपरीत रहेको जनाएको छ। त्यसैगरी हिरासतमा रहँदा आधारभूत मानवअधिकारअनुसार पर्याप्त खाना तथा पिउने पानीसमेत उपलब्ध नगराइएको भन्दै अभियानले गम्भीर आपत्ति जनाएको छ। यस घटनाले प्रहरी प्रशासनमाथि राजनीतिक प्रभाव र हस्तक्षेप रहेको आशङ्का थप बलियो बनाएको अभियानको भनाइ छ ।
घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै अभियानले हिरासतमा रहेका नागरिकमाथि भएको भनिएको राजनीतिक दबाब र धम्कीबारे निष्पक्ष छानबिन गर्न, सांसद गुरुङको हिरासत प्रवेश र त्यहाँ भएका गतिविधिबारे सत्यतथ्य सार्वजनिक गर्न, मानवअधिकार उल्लङ्घन भएको विषयमा अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न तथा भविष्यमा राजनीतिक हस्तक्षेप रोक्न प्रभावकारी व्यवस्था गर्न माग गरेको छ।
अभियानका संयोजक सुनिल सिंह र सह–संयोजक अजय सोडारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा नागरिकको विचार, अभिव्यक्ति र शान्तिपूर्ण विरोधको अधिकार सुरक्षित हुनुपर्ने उल्लेख गर्दै घटनाको निष्पक्ष अनुसन्धान र आवश्यक कारबाहीको अपेक्षा गरिएको छ।