एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउन नेता परिचालन

8

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारीसहित मिसन जागरण अभियानको विस्तृत कार्ययोजना पठाएको छ । पार्टीका सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी सहित पठाइएको मिसन जागरणको अवधारणामा गत निर्वाचनको समीक्षा, पार्टीले हार व्योहोर्नुका कारण, कार्यकर्ता र जनताको पार्टीप्रति निराश हुनुको कारण आदि विस्तृत रूपमा केलाइएको छ ।

मुख्य गरी २०७४ को निर्वाचनमा वाम गठबन्धनका कारण उत्साहित भएका जनता माओवादीसँगको पार्टी एकता टिकाउन नसक्दा र पछि एमाले फुट्दा निराश भएर पलायन भएको पार्टीले पठाएको दस्ताबेजमा उल्लेख गरिएको छ ।

‘२०७४ को आम निर्वाचन र नेकपाको गठनबाट उत्साहित बनेको जनमत नेकपाको विघटन र एमालेको विभाजनबाट समेत निराश हुँदै क्रमशः वैकल्पिक शक्तितर्फ आकर्षित भएको हो’ पार्टीले तयार गरेको मिसन जागरण अभियानको अवधारणामा भनिएको छ ‘आकस्मिक रु अस्वाभाविक रूपमा आम निर्वाचनबाट नेपालको राजनीतिमा मुख्य शक्तिका रूपमा स्थापित रास्वपा नेपालको अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो ।’

पार्टी र पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामहरू जनस्तरसम्म प्रचार गर्न नसक्दा त्यसको असर आम जनतासम्म पुगेको एमालेको ठम्याइ छ । जसका कारण भदौ २३ र २४ गतेका विध्वंसकारी घटना भएको र मुलुकलाई नियोजित प्रतिगमनतर्फ धकेलिएको दस्ताबेजमा उल्लेख गरिएको छ ।

पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार मिसन जागरण अभियानको जिम्मेवारी लिने नेताहरूले वर्तमान राजनीतिको पृष्ठभूमि, निर्वाचनको पराजयका कारण र पार्टीको भावी नीतिका बारेमा स्पष्ट होउन् भन्ने उद्देश्यले विस्तृत र सरल भाषामा अवधारणा पत्र तयार गरिएको बताए ।

उनका अनुसार पार्टीका नेताहरू विगत देखिको राजनीतिक उतार चढाव,निर्वाचन पछिको पार्टीको राजनीतिको मूल्याङ्कन र भावी कार्यदिशा बारे स्पष्ट भएर उनीहरुले मातहतमा सही सन्देश प्रवाह गर्न सकुन् भन्ने पार्टी केन्द्रले सोचेको बताए ।

‘पार्टी केन्द्रले पठाएको दस्ताबेज सबै कमरेडहरूले विस्तृत अध्ययन गर्नुहुनेछ । पार्टी कमजोर हुनाका कारण,देशी विदेशीको चलखेल,निर्वाचनमा एमाले विरुद्ध अल्गोरिदमको प्रयोग जस्ता विषयहरू विस्तृत रूपमा व्याख्या गरिएको छ’ आचार्यले भने ‘एमालेले अब गर्नुपर्ने डिजिटल वार,त्यसको प्रयोग र जनतासँगको सम्बन्ध सुधार तथा कमिटी प्रणाली सञ्चालनका विधि समेत उल्लेख गरेर मिसन जागरणको डकुमेन्ट पठाएका छौँ ।’

जनतासँगको सम्बन्ध सुधारका लागि एमालेले ‘६ ज’को नीति अघि सारेको छ । जस अनुसार ‘जनतामा जाऔँ,जनताका कुरा सुनौँ,जनप्रिय बनौँ,जनसङ्गठन परिचालन गरौँ, जबजलाई आत्मसात् गरौँ र जनमत सर्वेक्षणका आधारमा समेत प्रत्येक तहमा प्रतिस्पर्धामा सफलता हासिल गर्न सक्ने योग्य र सक्षम नेतृत्व तयार गरौँ ।’ एमालेको दस्ताबेजमा उल्लेख गरिएको छ ।

एमालेले डिजिटल सङ्गठन र प्रभावकारी प्रचारलाई प्राथमिकता राखेको छ । पार्टीले सामाजिक सञ्जालको व्यापक प्रयोग गर्न कार्यकर्तालाई निर्देशन जारी गरेको छ । उसले ‘अल्गोरिदम’ र ‘पर्सेप्सन म्यानेजमेन्ट’मा विशेष ध्यान दिन पनि कार्यकर्तालाई भनेको छ । ३१ पेजको सो अवधारणाा पत्रमा पार्टीका नेताहरूको जिम्मेवारी तोकिएको छ । प्रमुख आचार्यका अनुसार सबै केन्द्रीय सदस्यलाई पालिकाको जिम्मेवारी दिइएको छ ।

केन्द्रीय सदस्यले नपुगेका ठाउँमा पार्टीका अन्य नेताहरूलाई समेत जिम्मेवारी दिइएको छ । जिम्मेवारी पाएका नेताहरू स्थलगत रूपमा खटेका छन् कि छैनन् भनेर अनुगमनको पनि व्यवस्था गरिएको छ । केन्द्रबाट खटिने नेताहरूलाई होटलमा भन्दा जनताको घरमै बस्न आग्रह गरिएको आचार्यले बताए । आचार्यका अनुसार यो अभियान र जिम्मेवारी आगामी स्थानीय तह र प्रदेशको निर्वाचनसम्म कायम रहने छ ।

समाचार वर्गहरू